स्याङ्जा ७ साउन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आज स्याङ्जा लगायत देशभार बिबिध कार्यक्रम गरी मनाइँदैछ ।
२००६ वैशाखमा चार जना साथी निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो । विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गर्नुभएको थियो ।
उहाले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसद्मा राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका पाइन्छ । नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहनु भएको थियो ।
अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उहाले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गर्नुभएको थियो । नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
सोही दिनको स्मरण गर्दै आज स्याङ्जामा पनि रक्तदान लगायतका कार्यक्रम गरिने भएका छन्।
