स्याङ्जा २० साउन ।
महिला स्वरमाः ‘तीजको लागि सारी किने, भरेको फुल बुट्टा ,धोको फेरि नाच्नै मन छ दुखे दुखोस खुट्टा’
घनन्, हाई ……. घनन्, . घन्काइदेउ मादलुको ताल, पोहोर साल नाचिन नाच्छु यसैसाल ।।
यसैगरी, पुरुष स्वरमाः ‘ज्यान सुहाउँदो श्रृंगारमा कमी रातो टिकी, रातो टिकी किनीदेउकी, दिउँकी मुटु झिकी’
घनन्, हे ….हे .घनन्………..घन्काइदेउ मादलुको ताल, पोहोर साल नाचिन नाच्छ यसैसाल ।।
तीजका दिन नजिकिदै गर्दा स्याङ्जामा पनि यसरी नै तीजगीतहरु बज्न थालेका छन्। दोहोरो भाकामा गाईएका गीतले जो कोहीलाई पनि नाँचम्, नाँचम् बनाउँछ।
पछिल्लो समय स्याङ्जाका गायिका तथा गायक द्धय सुनीता पौडेल, राजेश भण्डारी र समित सुनारको लय र शब्द मिलन बिश्वकर्माको ‘मादलुको ताल’ ले बजारमा चर्चा पाएको छ। गाउँघरमा यी गीत घन्केका छन्। गीतमा तीजको मौलिकपन दिन खोजिएको छ।
अघिल्ला बर्षमा कोरोना संक्रमण कारण नाच्न नपाए पनि यसबर्ष धोको फेरेरैे नाच्ने र तीजको रमाइलो गर्ने भनि गीत मार्फत भनिएको छ। गीत अडियो तथा भिडियो दुबैमा निर्माण गरिएको छ।
गीतको निर्देशन राजेश भण्डारी र छायांकन बिजय पोखरेलले गरेका छन्। गीत छायाँकन पुतलीबजार नगरपालिका ३ स्थित गुँणीखोला मन्दिर परिसरमा गरिएको छ। स्थानीय कला, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले स्थानीय कलाकारलाई नै गीतमा नृत्य तथा अभिनय गर्ने अवसर दिइएको गायिका सुनिता पौडेलले बताउनुभयो ।
यसअघि पनि पौडेलका ‘चेलीलाई प्यारो माइत बरिलै’, ‘माइतीको झल्को’ लगायतका ७ वटा तीजका गित बजारमा आइसकेका छन्।