स्याङ्जा ४ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ११ ले आफना वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सहित सम्मान कार्य सोमबारदेखि सुरु गरेको छ ।
निर्वाचित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरिकका घरघरमा पुगेर सम्मान गर्नुभएको हो । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी सहितको टोलीले जेष्ठनागरिकको घरघरमै पुगेर स्वास्थ्य परिक्षण, स्वास्थ्यबद्र्धक खाद्य सामाग्री प्रदान गर्नुका साथै घरघरमा पुगेर दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको छ ।
नगरप्रमुख रेग्मीले करेण्डाँडा निवासी एक सय बर्षिया रुपा पराजुलीलाई पहिलो चरणमा सम्मान गर्दै उहाले च्यावनप्राश लगायत आवश्यक औषधी समेत उपलब्ध गराउनुभयो ।
यसैगरी, ९२ बर्षिया गंगादेवी अर्याल, ८८ बर्षिय भूमिजंग केसी र ८५ बर्षिय श्रीप्रसाद अर्याललाई सम्मान गर्दै नगरप्रमुख रेग्मीले भन्नुभयो ‘जेष्ठ नागरिक हामीसबैका पथपर्दशक हुनुहुन्छ। उहाँहरुका ज्ञान, सीप र अनुभवलाई धारणा गरेमा सबैको भलो हुन्छ। यसतर्फ पुतलीबजार नगरपालिकाले आगामी दिनमा समेत आवश्यक सहयोग गर्नेछ।’
त्यसपछि करेण्डाँडाका स्वास्थ्य चोैकी प्रमुख तिर्थराज अर्यालले उनीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियोे ।
वडा अध्यक्ष मनोज पौडेलले वडाभित्रका सबै जेष्ठ नागरिकलाई क्रमशः सम्मान एवं नियमित स्वास्थ्य परिक्षण गरिने बताउनुभयो । यसपटक विस १९९८ सालसम्म जन्मेका वडाका ५५ जना जेष्ठनागरिकलाई पहिलो चरणमा सम्मान गरिने लक्ष्य रहेको उहाले जानकारी दिनुुभयो ।
वडा अध्यक्ष मनोज पोडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य संजीता नेपालले स्वागत एवं वडा सचिव वेलवहादुर थापाले संचालन गर्नुभएको थियो । घरमै आएर सम्मान पाउदा खुशी लागेको ८८ बर्षिय भूमिजंग केसीको भनाई छ ।