स्याङ्जा २७ असोज । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जेष्ठ नागरिकको सम्मान स्वरुप उहाहरुको सरसफाई सहित सुन्दर बनाउनका लागि कार्यक्रम गरेको छ ।
उद्योग वाणिज्य संघको आयोजना तथा शौन्दर्यकला समिति र नाइ संघको समन्वयमा सो कार्यक्रम गरिएको हो । पुतलीबजार नगरपालिका १ स्थित सिटी हल प्रांगणमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै स्थान तोकी उहाहरुका कपाल, दाह्री, नङ् काट्नुका साथै मेहंदी लगाउने, थ्रेडिङ सहित क्लिनजीङ्को समेत निशुल्क सेवा उपलब्ध गराएको हो ।
कार्यक्रमको उदघाटन गर्दै जेष्ठ नागरिक एवं समाजसेवी भोला लम्सालले उद्योग वाणिज्य संघले गरेको नौलो तथा अनुकरणीय कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । चाडवाड नजिकिदै गर्दा गरिएको यस्ता सेवामूलक कार्यले विपन्न परिवारलाई सहयोग पुरयाएको उहाको भनाई थियो ।

कार्यक्रममा अर्का जेष्ठ नागरिक एवं समाजसेवी चुडामणी सुवेदी, शोैन्दर्यकला समितिका नगर अध्यक्ष कल्पना लम्साल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष राजन घिमिरले स्वागत एवं सदस्य रविन केसीले संचालन गर्नुभएको थियो ।
नगरपालिका स्तरीय शौन्दर्यकला समिति र नेपाल नाइ संघको समन्वयमा झण्डै डेढ सय महिला तथा पुरुषले निशुल्क सेवा लिएको संघले जनाएको छ । सोही कार्यक्रममा ४ जना नाइ र ६ जना ब्यूटीपार्लर संचालकले दिनभरजसो सेवा प्रवाह गर्नुभएको थियो ।
