स्याङ्जा १७ पुस । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा पुतलीबजार नगरपालिकाका ज्योती थापा प्रथम हुनु भएको छ ।
‘म बिद्यार्थीका लागि, बिद्यार्थी मेरो लागि’ बिषयक शिक्षकहरुबीच भएको प्रतिस्पर्धामा कालीगण्डकी गाउँपालिकाका रामप्रसाद पाण्डे द्धितिय र भीरकोट नगरपालिकाका कृष्णप्रसाद पौडेल तृतीय बन्नुभएको छ ।
प्रथम, द्धितिय र तृतीय हुनेलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, सामाजिक विकास कार्यालयका अधिकृत शोभाचन्द्र रेग्मीले नगद सहित प्रमाणपत्रले पुरस्कृत गर्नुभएको छ ।
पुरस्कार प्रदान गर्दै प्रमुख जिटीले ब्यक्तिभित्रका अन्तरनिहीत प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम आवश्यक रहने बताउदै आउदा दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न आयोजकलाई सुझाव दिनुभयो ।
प्रथम हुनुभएका थापाले पुस २७, २८ गते पोखरामा आयोजित प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अवसर पाउनु भएको छ ।
शिक्षक बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत मंगलबार स्याङ्जाका १० पालिकाका शिक्षकबीच प्रतियोगिता भएको हो । प्रतियोगितामा पुतलीबजार भीरकोट, वालिङ, गल्याङ, चापाकोट, आँधीखोला, फेदिखोला, अर्जुनचौपारी, बिरुवा, कालीगण्डकीबाट सहभागि रहेको निर्णयक समितिका संयोजक खडानन्द अर्यालले जानकारी दिनुभयो ।
शिक्षा समन्वय इकाई प्रमुख विश्वराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा अधिकृत टंकराज बरालले स्वागत एवं सामाजिक विकास शाखा अधिकृत शोभाचन्द्र रेग्मीले संचालन गर्नुभएको थियो ।