स्याङ्जा ७ बैशाख । चापाकोट नगरपालिकाले घरमा पालिएका भेडाबाख्रालाई पिपिआर खोप लगाईदिएको छ। नगरभित्रका ११ हजार ५ सय १ भेडाबाख्रालाई खोप लगाएको हो। ती मध्ये ११ हजार ४ सय ७४ वटा बाख्रा र ३६ भेडा छन्।
भेडाबाख्रामा लाग्ने मौसमी रोगबाट बचाउन र रोगसंग लड्ने क्षमता बढाउने उदेश्यले नगरभित्रका भेडाबाख्रालाई प्राबिधिक सहितको टोली घरघरमा पुगेर निशुल्क पिपिआर खोप लगाईदिएको हो।
मानिसमा जस्तै भेडाबाख्रामा पनि ज्वरो आउने, पखाला लाग्ने, नाकबाट सिंगान बग्ने जस्ता संक्रमण हुन सक्ने जनाउदै ती संक्रमणबाट जोगाउन पिपिआर खोप अभियान संचालन गरिएको चापाकोट नगरप्रमुख देवबहादुर खाँण (इश्वर)ले जानकारी दिए।
प्राविधिक सहितका टोली सबै टोलटोलमा पुगेर खोप लगाउने ब्यवस्था मिलाइएको उपप्रमुख ईशा रानाले जानकारी दिईन्। उनका अनुसार, ‘नगरपालिका र किसान प्राविधिक शिक्षालयका ३८ जना प्राबिधिकको टोलीले १३ दिनमा १० वटा बडाका सबैलाई पायक पर्ने टोलमा पुगेर खोप लगाए।’
प्रायजसो, बर्षात्का समयमा भेडाबाख्रामा ज्वरो देखिने, घाँसपात खान रुची नदेखाउने, झोक्राउने लगायतका लक्ष्यण देखिन्छन्। सरुवा रोग भएकाले यसको नियन्त्रणका लागि अहिले नै भेडाबाख्रालाई खोप दिनुपर्ने भएकाले खोप अभियान संचालन गरेको पशुशाखा प्रमुख भुपराज भण्डारी भन्छन्।
खोप दिएपछि भेडाबाख्रामा ती संक्रमणबाट लड्न सक्ने क्षमता बढ्छ। यसपछि, कुखुरा, गाईभैसीमा पनि खोप दिने तयारीमा जुटेको पालिकाले जनाएको छ।
त्यसो त, गतबर्ष स्याङ्जाका केही स्थानमा संक्रमण देखिएपछि केही भेडाबाख्रा मरेका थिए।