स्याङ्जा २१ असोज । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले स्याङ्जाको पुतलीबजारमा शाखा कार्यालयको स्थापना गरेको छ ।
शाखाको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले माइक्रो इन्स्योरेन्स कम्पनीले ग्रामीण बस्तीका लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख रेग्मीले कम्पनीको तेस्रो शाखाको रुपमा पुतली बजारमा स्थापना गरेकोमा धन्यबाद दिँदै, आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कम्पनीले शुलभ मूल्यको विमा योजना ल्याएकोमा खुशी व्यक्त गर्दै नगरका टोलटोलमा पुगेर आवश्यक जानकारी तथा सुविधा प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले लघुबिमा नयाँ अवधारणा भएकाले सरोकारवाला सबैले व्यापक प्रचारप्रसार गरी लक्षित समुदायसम्म पुराउन आवश्यक रहेको बताउनुभयो । उपप्रमुख अर्यालले महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिँदै नगरपालिकाले पूर्ण सहयोग र सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं २ का अध्यक्ष भीमबहादुर गुरुङ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, स्याङ्जा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरूङ्ग, जिल्ला सहकारी संघका उपाध्यक्ष संघ ताम्राकार, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद शर्मा, गण्डकी यातायात प्रा।लि।का व्यवस्थापक गणेश थापा, पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा, मुश्लिम संघका प्रदेश अध्यक्ष शाह मोहम्मद मियाँ, समाजसेवी सीता गोदार लगायतले कम्पनीलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्थानीय तहसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमामा समावेश गर्ने बताउँनुभयो । भण्डारीले डिजिटल प्रविधिको माध्यमबाट जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान भइरहेको बताउँदै कम्पनीले भुक्तानी दाबीलाई २४ घण्टामै विमकको परिवार समक्ष हस्तान्तरण भइरहेको बताउनुभयो ।
कम्पनीका मार्केटिङ हेड कैलाश देवकोटाले वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।