स्याङ्जा २५ भदौ । गल्याङ नगरपालिकामा रहेका ९ वटा सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरिएको छ ।
प्राथमिक तहमा अध्ययनरत बालबालिकालाई पठन सिप बढाउने उद्देश्यले बज्रेभान्ज्याङ माध्यमिक विद्यालय, गल्कोट माध्यमिक विद्यालय, ज्ञानज्योती आधारभूत विद्यालय, हिमाञ्चल आधारभूत विद्यालय, लखन थापा आधारभूत विद्यालय, नरोदय माध्यमिक विद्यालय, पक्वादी माध्यमिक विद्यालय, शिशुकल्याण माध्यमिक विद्यालय र शिवालय माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना गरिएका हुन । ती विद्यालयम बालमैत्री पुस्तकालय स्थापना गरिएको रुम टु रिड (पढ्नको लागि कोठा) का साक्षरता कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका र रुम टु रिडको साझेदारीता तथा सूर्योदय क्लबको व्यवस्थापनमा पुस्तकालय स्थापना गरिएको हो । हाल प्रति विद्यालय करिव ४ सय वटा बालसाहित्यका पुस्तकहरुका साथ पुस्तकालय सुरुवात गरिएको सूर्योदय क्लबले जनाएको छ ।
पुस्तकालय स्थापना गर्नको लागि नगरपालिकाले फर्निचर, कार्पेट, कुशन तथा रंगरोगन सहयोग गरेको थियो भने रुम टु रिड र सूर्योदय क्लबबाट तालिम, सामग्री, पुस्तकहरु तथा प्राविधिक सहयोग गरेको थियो । यी पुस्तकालयमा ४ वर्ष सम्म नियमित रुपमा पुस्तकहरु थप गर्दै जाने बताइएको छ ।
विद्यालयहरुमा शैक्षिक गुणस्तर बढाउनका लागि अन्य विद्यालयमा समेत पुस्तकालय स्थापना गरिने योजना रहेको नगर शिक्षा शाखा प्रमुख केदार आचार्यको भनाई छ । रुम टु रिड, सूर्याेदय क्लब तथा अन्य स्थानीय तहहरुसँगको साझेदारीतामा जिल्लाका अन्य विद्यालयहरुमा पनि पुस्तकालय स्थापना गर्ने सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।