कास्की १० बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनु भएको छ । गण्डकी प्रदेशसभामा उहाले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमध्ये उहाको पक्षमा २४ जना मात्रले समर्थन जनाए ।
विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत मात्र पाउनु भएको थियो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बन्नु भएका अधिकारी करिब साढे ३ महिना मुख्यमन्त्री बन्नुभयो ।
मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात् दिपक मनाङेले अधिकारीलाई मत दिनुभएन ।
सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो । यसैबीच, अल्पमतमै देखिनु भएका मुख्यमन्त्री अधिकारीले बैशाख ९ मा मा विश्वासको मत लिनुभएको थियो ।