स्याङ्जा ९ भदौ ।बनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने नाराका साथ सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाले बन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को प्रावधान सम्बन्धी प्रशिक्षण दिएको छ ।
यूएसएडको जलजंगलको आर्थिक सहयोगमा संचालित परियोजना अन्र्तगत सामुदायिक बन उपभोक्ता समूहका सदस्यहरुका क्षमता अभिबृद्धिका लागि बन्यजन्तुका ब्यवहार र समुदायको प्रतिक्रिया तथा निर्देशिकाका बारेमा जानकारी गराएको हो ।
प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदीले बन्यजन्तुका आक्रमणबाट पिडित भएका किसानलाई तत्काल राहत उपलब्ध गराउनेगरी काम कारवाही गरिनुपर्ने बताउनुभयो । किसानको धेरै मेहनत, परिश्रम र लगानी भएका पशुपालन तथा अन्नमा बन्यजन्तुको आक्रमणले क्षणभरमै पुरयाएको नोक्सानलाई दिईने राहतमा पनि ढिलाई गर्न नहुने उहाले भन्नुभयो ।
सामुदायिक बन र सरकारको सहकार्यका राम्रा काठ सहित बनभित्र आयआर्जन बढाउनेगरी योजना अघि ल्याउनुपर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, केन्द्रिय सदस्य दोबबहादुर कार्की, बन कार्यालयका अधिकृत रुक्मागत सुवेदी लगायतले प्रशिक्षण दिनुभएको थियो ।
सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष तारा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव खगेन्द्र पौडेलले गर्नुभएको थियो ।