स्याङ्जा २९ जेठ । संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङजाका सभापति राजु थापाले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै सरसल्लाह आदानप्रदान गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्धारा आयोजित नेपाली कांग्रेसका सभापति राजु थापा र पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले सो बताउनुभएको हो ।
पालिकाले नगरभित्रका सबै उद्योग ब्यवसायी, किसान, नवउद्यमीको हितका लागि काम गर्दे आत्मनिर्भर बनाउन सहयोग गर्न सुझाव दिनुभयो । उहाले भन्नुभयो, ‘स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ब्यवसायिक तालिम उपलब्ध गराई बिशेषगरी महिलालाई आर्थिकोपार्जनका लागि सक्षम बनाउनु पर्छ ।’
आयातित बस्तु बेचेर मात्र ब्यवसायी बन्न नसकिने जनाउदै भुगोल सुहाउदो फलफूल, तरकारी तथा अन्य उद्यम संचालन गरेर निर्यात गर्न समेत उहाले सुझाव दिनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले ब्यवसायीका पिरमर्का, कठिनाइका बारेमा आफुले सहयोग गर्ने बताउनुभयो । नगरपालिकाको समग्र विकासका लागि ब्यवसायीका महत्वपूर्ण भूमिका रहने बताउदै ब्यवसायी र जनप्रतिनिधी एक आपसमा मिलेर अघि बढे मात्र नगरको विकास हुने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बिक्रान्त कुमार श्रेष्ठ, उपप्रमुख देवी अर्याल, नगरप्रवक्ता मनोज पौडेल, नगर कार्यपालिका सदस्य अनिता रुचाल, नगरसभापति सुरजकुमार अधिकारी, उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्वअध्यक्ष नवराज सुवेदी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रसका सभापति दिनेश अर्याल, उद्योग वाणिज्य संघका सचिव मित्रबन्धु पोखरेल, सल्लाहकार गोबरधन श्रेष्ठ, सदस्य रविन केसी, महिला उद्यमी समितिका संयोजक इन्द्रेणी अधिकारी लगायतले ब्यवसायीका अवस्था र कठिनाईका बारेमा जानकारी गराएका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उापध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, तृतीय उपाध्यक्ष सुनिता पौडेलले धन्यावाद एवं महासचिव रामचन्द्र नेपाललले संचालन गर्नुभएको थियो ।
यसैगरी, महिला उद्यमी समिति र पुतलीबजार नगर स्तरीय ब्यूटीसीयन समितिले पनि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई स्वागत एवं सम्मान गरेको हो ।