स्याङ्जा, १७ पुस । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कमिशनको खेलोमा केही कर्मचारी र नेता मिल्ने गरेको बताउनुभयो । नेता र ठुल्ठुला कर्मचारीका मिलोमतोमा भ्रष्टाचार हुने गरेको उहाको भनाई छ।
नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति स्याङ्जाको आठौं जिल्ला अधिवेशनको शनिवार यहाँ उदघाटन गर्दै उपसभापति गुरुङ्ले प्रतिप्रश्न गर्दे भन्नुभयो ‘के भए गरेका भ्रष्टाचारका काण्ड नेताले मात्र गरेका हुन्।’ हजुर हजुर भन्दै केही ठुला कर्मचारीले नै नेता फसाउने गर्छन् उहाले भन्नुभयो।
उपसभापति निर्वाचित भएपछि पहिलो पटक गृह जिल्लामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उहाले कर्मचारी स्थायी सरकार भएकाले नागरिकका सुख, दुखमा सहयोगी बनी काम गर्न आग्रह गर्नुभयोे। ीनजामित कर्मचारीलाई उदाहरणीय बनी काम गर्न उहाको सुझाव छ।
वाइडबडी, प्रिन्टिङ प्रेस खरिद, ओम्नी, ललीता निवास, आयल निगम जग्गा प्रकरण लगायतका बिबिध खाले भ्रष्टाचार काण्डको अव खोजी हुन जरुरी छ। यसमा करोडौं भ्रष्टाचारका खेल भएका छन्।
देश बिग्रने नेताका खराब आचरणबाट हो। एउटा इन्जिनियरले खराब आचरण गर्दा सडक तथा पुल मात्र बिग्रन्छ। तर, एक नेताका खराब आचरणले सिंगो मुलुक बर्वादीतर्फ धकेलिन्छ उहाले बताउनुभयो।
‘बिगतका गाउँले दुख भुलेर नेताहरु काठमाण्डौंका सुख सयलमा रमाउन थालेकाले मुलुकको विकास हुन सकेन। उहाले भन्नुभयो, ‘अब, नेता र केही कर्मचारी सुध्रनुपर्छ। बिधिको शासनमा चल्नुपर्छ, तबमात्र मुलुकले गति लिन्छ।’
संघिय निजामित ऐन आवश्यक छ। अध्यादेश मार्फत होइन। संसदमा दफावार छलफल गरेर ऐन ल्याउने काममा सहयोग गर्ने उनले प्रतिवद्धता जनाउनुभयो। यसबारे सभापति शेरबहादुर देउवासंग परामर्श गर्नेछु उहाले भन्नुभयोे।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति राजु थापा, नेपाल निजामति कर्मचारी यूनियनका केन्द्रिय अध्यक्ष गोपाल पोख्रेल, नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, चापाकोट नगरप्रमुख शिबकुमार गिरी, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, बाग्मती प्रदेश संयोजक एकनारायण काफले, गण्डकी प्रदेश संयोजक शिव शर्मा, केन्द्रिय सदस्य कृष्णप्रसाद अर्याल, पुतलीबजार नगरसभापति सुरज अधिकारी, नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष गुरुदत्त शर्मा, यूनियनका कास्की जिल्ला अध्यक्ष डार्विन लम्साल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, शिक्षक संघका उपाध्यक्ष भरतप्रसाद लम्साल लगायतले निजामति कर्मचारी ऐनको आवश्यकताका बारेमा जोड दिदै कर्मचारी र राजनीतिकर्मीबीचको सदाचार र एकताले नै मुलुकले गति लिनेमा जोड दिनुभयो ।
नेपाल निजामति कर्मचारी यूनियन स्याङ्जाका अध्यक्ष ज्ञानप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नारायणबन्धु अर्यालले स्वागत एव. सचिव पुरुषोत्तम कोइरालाले संचालन गर्नुभएको थियो ।