काठमाडौं,१ असार : सर्वोच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्नेगरी वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई एमिकस क्युरीमा सिफारिस गरिएको छ। सर्वोच्च अदालत बार एसोसिएन कार्यसमिति बैठकले एमीकस क्युरीमा घिमिरे र केसीको नाम सिफारिस गरेको हो।
जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइमा सहयोग गर्नेगरी वरिष्ठ अधिवक्तद्वयलाई एमिकस क्युरी तोकिएका हो।
हिजै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो ।
सो मुद्दामा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट मुद्दामा सहयोग गर्नेगरी एमिकस क्युरी माग गरेका थिए। सोही अनुसार मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन कार्यसमिति बैठकले घिमिरे र केसीको नाम सिफारिस गरेको हो।
गम्भीर प्रकृतिको मुद्दाको सुनुवाइका लागि एमिकस क्युरी गठन गर्ने चलन रहेको छ।