काठमाडौं २७ साउन । नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत समूह ‘एफ’को खेल उज्वेकिस्तानमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनसार कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थस्थल उज्वेकिस्तानमा हुन लागेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी)ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको थियो ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेशलगायत देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।
आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ ।
समूहको शीर्ष टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ । प्रतियोगिता सन् २०२२ मा भारतका तीन सहरमा हुँदै छ । त्यसका लागि भारतले आयोजनास्थलको पनि टुंगो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।