स्याङ्जा २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको आज ११० औँ जन्मदिन । आजको दिनको स्मरण गर्दै स्याङ्जा लगायत देशभर बिबिध कार्यक्रमको आयोजना गरि वीपी जन्मजयन्ती मनाईदैछ।
कोइराला नेपाल पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झने गर्दछन्् ।
पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताउनु भएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गर्नुभएको थियो । उहाले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गर्नुभएको थियो ।
कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएको थियो भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बन्नु भएको थियो । उहा विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री हुनुभएको थियो ।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उहा पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बस्नु परेको थियो ।
बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन् । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । वीपीको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको क्यान्सरबाट भएको थियो ।
यसैगरी, वीपी जन्मजयन्तीको अवसर पारेर स्याङ्जाले ३ दिने कार्यक्रम गर्ने भएको छ । आज पुतलीबजार नगरपालिका १ स्थित पार्टी मुख्यालयमा बिहान ९ बजे रक्तदान र ११ बजे विचार गोष्ठी गरिने भएको गरिने भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सहसचिव धुर्वबन्धु पौडेलले जानकारी दिनुभयो ।