स्याङ्जा १४ असार । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।
यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।
यसैबीच, नेपाल सरकारले आज असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो (मङ्गलबार)सार्वजनिक सूचना जारी बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले आज सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।