स्याङ्जा ५ असार । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । ‘गाउँमा गोरु पाल्ने चलन हराइ सक्यो । काम गर्ने मान्छे पनि छैनन्,’ उहाले भन्नुभयो, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।’ कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष सिता थापाले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवाहरूलाई स्वदेशमा फर्कन आग्रह गर्नुभयो । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उहाको भनाई छ ।
युवाहरू विदेश तर्फ पलायन भए सँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको तथा भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै यस कार्यक्रमले आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारीले आ।व २०७८।७९ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकोले युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गर्नुभयो ।
दिन भर लाएर गोरुको सहायतामा खेतवारि जोत्न परेको कुरा सुनाउँदै अबका दिनमा भने एक दुई घण्टामा आफ्नो खेत बारी जोत्न सकिने बताउँदै गाउँ पालिकाले किसानको हितमा काम गरेको कृषक बालकृष्ण पौडेलले बताउनुभयो।
प्रति ट्याक्टर कुल ४९ हजार मध्ये गाउँपालिकाले २४ हजार पाँच सय अनुदान दिएसँगै किसानले २४ हजार पाँच सयमा ट्याक्टर पाएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।