स्याङ्जा २० बैशाख । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयले अपांगता सम्बन्धी हालसम्म भए गरेका सेवा सुबिधाका बारेमा जानकारी लिएको छ । अपांगता भएका ब्यक्तिले पाउने स्वास्थ्य सेवा, सुबिधा लगायत अन्य बिषयमा पनि जानकारी आदानप्रदान गरिएको हो ।
स्वास्थ्य सम्बन्धी पुनस्र्थापना सेवाका लागि पुतलीबजारका जनप्रतिनिधि र सरोकारवालाबीच भएको समन्वयात्मक बैठककमा सो का बारेमा जानकारी लिएको हो ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले अपांगता भएका ब्यक्तिको स्वास्थ्य बिमा, सहायक सामाग्री बितरण, बिभिन्न जानकारीमूलक कार्यक्रम सहित सहयोग, अडियोग्राफी परिचयपत्र बनाउने मेशिन, अपांगता स्याहार भत्ता लगायतका काम गरिरहेको जनाउदै आगामी दिनमा पनि आवश्यकता अनुरुपका सहयोग उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल, सामाजिक विकास समितिका संयोजक इमबहादुर सेन, जिल्ला अस्पताल स्याङ्जाका डा. सचिन रानाभाट, प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला, गण्डकी प्रदेश अपांगता निर्देशन समितिका बिज्ञ सदस्य युवराज पराजुली लगायतले नगरको अपांगताका अवस्था र उहाहरुका लागि आवश्यक सहयोगका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य हेम गुरुङले अपांगता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।