स्याङ्जा ८ साउन । सिद्धार्थ राजमार्गको भालु पहाडमा अबरुद्ध यातायात प्रहरी र प्रशासनको सक्रियतामा सुचारु भएको छ ।
गएराति ढुंगा खसेर सिद्धाथै राजमार्ग अबरुद्ध भएको थियो । पोखरा भएर जाने आउने लामो तथा छोटो दूरीका सवारी साधन जाममा परेका थिए ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार तत्काल पोखराबाट जेसीभी, एक्काभेटर, ट्रिपर र प्राबिधिक कर्मचारीहरुको टोली झिकाई बिहीवार विहानदेखि यातायात सुचारु गर्ने प्रयास गरिएको थियो ।
पटक पटक सर्वसाधारण यात्रु र सवारी चालकले दुख पाउदै आएको भालुपहाड क्षेत्रमा बिशेष परिस्थिति बाहेक यातायात सेवा नरोकिनेगरि बिहीवारदेखि आँधीखोला र सेतीखोलाको दोभानबाट चोकर उठाई राजमार्ग ब्यवस्थित गर्न लगाइएको छ ।
राजमार्गको दुबैतर्फ अस्थायी नाली निर्माणगरी पानी सडकमा जम्न नदिने ब्यवस्था मिलाइएको छ । केही बर्षअघि सडक कार्यालय पोखराले मोड सुधारका नाममा भालुपहाडमा डोजर प्रयोगगरी सडक विस्तार गर्दा यहाँ जोखिम बढेको हो ।