स्याङजा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हो । दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् ।
यस पर्वको नाम हिन्दी शव्दको ‘त्योहार’ शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यस वर्षको यमपञ्चक अर्थात् तिहार शनिबारदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाउने गरिन्छ ।
शनिबार दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले शनिबार देखि तिहार पर्व शुरु भएको हो ।
शनिबार त्रयोदशी भएकाले शनिबार नै धनतेरस अर्थात् धनत्रयोदशी पर्व पनि मनाइएको छ । यमदीप दान पनि शनिबार भएको नेपाल पञ्चाङ्ग निर्णायक समिति सदस्य एवम् धर्मशास्त्रविद् प्राध्यापक डा। देवमणि भट्टराईले जानकारी दिनुभयो ।
आइतबार काग तिहार र धनवन्तरी जयन्ती परेको छ । तिथिको घटबढका कारण सोमवार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । कात्तिक ३ गते दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि तीन गते परेको छ ।
मङ्गलवार ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । गाई गोरु एवम् गोवद्र्धन पूजा कात्तिक ५ गते बुधवार परेको छ । आत्म पूजा र नेपाल सम्बत आरम्भ यसै दिन परेको छ ।
कात्तिक ६ गते बिहीवार भाइटीका छ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ । र, नेवारी समुदायले मनाउने किजापूजा पनि कात्तिक ६ गते नै परेको छ ।