स्याङ्जा १ कातिक । वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिएको छ । संघीय सरकार र वालिङ नगरपालिकाको संयुक्त लगानीमा नगर अस्पताल भवनको निर्माण गरिएको हो । झण्डै १३ करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ ।
दुई पटक म्याद थप गरिएको अस्पताल भवन निर्माणका लागि अन्तिममा कात्तिक मसान्तसम्म म्याद रहेको थियो । कोभिडको महामारी, निर्माण सामग्रीको अभाव, भवन निर्माण स्थल जग्गा) को जटिलताका कारण समय थप गर्दै आएको नगरपालिकाले जनाएको छ ।
स्थानीय व्यक्तिको अनुदान र खरिद गरी २० रोपनी क्षेत्रफलमा अस्पताल भवन तथा अन्य आवश्यक संरचनाहरु निर्माण गरिएको नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । तीन वटा ब्लकमा निर्माण गरिएको अस्पताल तत्कालको लागि १५ शैयाको हुने छ । अस्पताल भवन निर्माणका लागि २७ करोडको लागत अनुमान सहितको डिपिआर तयार गरिएको रेग्मीले बताउनुभयो ।
वालिङ नगरपालिका–१, रामबाच्छामा निर्माण गरिएको भवनमा कर्मचारी आवास गृह, कपाउण्ड पर्खाल, निकासी सडक र लिफ्ट लगायतका संरचना निर्माण गर्न बाँकीनै रहेको छ । नगर अस्पताल भवन निर्माण गरिएको स्थानको जमिन भिरालो भएका कारण थप तीन करोड लगानी बढ्न पुगेको इन्जिनियर रेग्मीले जानकारी दिनुभयो ।
२०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले देशका विभिन्न पालिकामा एकै पटक सुरु गरेको नगर अस्पताल निर्माण अभियान अन्तर्गत वालिङ नगर अस्पताल भवनको निर्माण गरिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । जिल्लाकै धेरै जनसंख्या बसोबास गर्ने वालिङमा सुविधा सम्पन्न भवन अभावमा स्थानीय नागरिक पोखरा तथा पाल्पासम्म उपचारका लागि पुग्ने गरेका थिए ।
आफ्नै पालिकामा नगर अस्पतालको सुविधा सम्पन्न भवन बनेपछि स्थानीय खुसी न् । आधुनिक भवन बन्यो सोहि अनुसारको उपचार सुविधा पाएमा स्वास्थ्य उपचारका लागि पोखरा तथा पाल्पा जार्नुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।