स्याङ्जा १ कात्तिक । वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापनबाट झण्डै २७ लाख आम्दानी गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्क र बिक्री शुल्क वापत उक्त रकम आम्दानी गर्न सफल हो ।
नगरपालिकाले नगर क्षेत्रका झण्डै ३ हजार घरपरिवारबाट दैनिक फोहोरमैला संकलन हुँदै आएको छ । कुहिने र नकुहिने दुई थरीका फोहोर उठाउने नगरपालिकाले फोहोर व्यवस्थापन शुल्क वापतमात्रै २५ लाख उठाउने गरेको छ भने संकलित फोहोरमैला बिक्री शुल्क वापत करिब दुई लाख गरी झण्डै २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
फोहोरमैला संकलन गरेवापत खाद्यान्न, होटल तथा रेष्टुरेष्ट, तरकारी तथा फलफूल, फेन्सी, कपडा, औषधी पसल, बैंक तथा वित्तीय संस्थाबाट शुल्क पठाउने गरिएको छ । राजश्व परामर्श समितिले निर्धारण गरेकै मासिक शुल्क उठाउँदा झण्डै २५ लाख रुपैयाँ संकलन हुने गरेको नगरपालिकाका वातावरण तथा सरसफाई शाखा प्रमुख मणि रेग्मीले बताउनुभयो ।
बजारबाट कुहिने ५ टन र नकुहिने ५ टन गरी दैनिक संकलित १० टन फोहोरलाई बर्गिकरण गरेर बिक्री वितरण गरिन्छ । बर्गिकृत फोहोरमध्ये कुहिनेमध्ये घाँसपात, कागज, तरकारी, फलफूलका बोक्रा, भान्साबाट निस्कने अन्य फोहोरलाई मलमा रुपान्तरण गरिन्छ । कुहिने फोहोरलाई गड्यौलालाई खुवाएर मलमा परिणत गरिने गरेको नगरपालिकाले जनाएको छ ।
नकुहिने फोहोरमध्ये प्लाष्टिक, कपडा, टिना–फलाम, कार्टुनलाई तौलका आधारमा कवाडीलाई बिक्री गरिदै आएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ मा नगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्कबाटै झण्डै ३० लाख आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले एन्फो नामक परियोजनासँगको सहकार्यमा दिसाजन्य लेदो (सल्ज टिटमेन्ट प्लान्ट) समेत व्यवस्थापन गर्दै आएको छ । दिसाजन्य लेदोलाई प्लान्टबाट पानी र ठोस वस्तु छुट्टाएर पानी सुकाउने र ठोस वस्तुलाई मल बनाउने गरेको छ । सेवाग्राहीको सेफ्टी ट्यांकीको दिसाजन्य लेदो पदार्थ नगरपालिकाले प्रतिट्यांकी ६ हजार ५ सयमै व्यवस्थापन गर्दै आएको छ ।
फोहोर व्यवस्थापनमा उदाहरण बन्दै गएको स्मार्टसिटी अवधारणाको नगरपालिकाले कुहिनेको तुलनामा नकुहिने फोहोर व्यवस्थापनमा बढि समस्या देखिएको जनाएको छ । मुल्यवान सिसा, फलाम र कार्टुन सेवाग्रहीले घरबाटै बिक्री गर्ने र कमशल खालको फोहोर दिने भएकाले बर्गिकृत फोहोर बिक्री वितरणमा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले बताउनुभयो । कुहिने फोहोरमैला सजिलै मलमा रुपान्तरण हुने गरेको उहाले सुनाउनुभयो ।
नगरपालिकामा विशेष गरी बजार क्षेत्रका वडामा गठन गरिएको सरसफाइ उपसमितिले आ–आफ्ना टोलमा कुहिने र नकुहिने फोहोर बर्गिकरण गर्दै आएका छन् । फोहोरमैलाका क्षेत्रमा देशका अन्य पालिकाहरुले निजी क्षेत्रसँगको साझेदारीमा काम गर्दै आइरहेको समयमा वालिङले आफ्नै अगुुवाईमा फोहोरमैलाको व्यवस्थापन गर्दै आएको छ ।
नगरपालिकाले फोहोर बर्गिकरणका लागि बनाएको सरसफाइ केन्द्र पछिल्लो समय शैक्षिक थलोका रूपमा विकसित हुँदै गएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । फोहोरमैलाका क्षेत्रमा गरेका कार्यबारे जान्न र बुझ्न देशका विभिन्न स्थानबाट आउने गरेका छन् । सरसफाइ केन्द्र स्रोतको उपयोगिता, आयआर्जनको स्रोत र एकीकृत व्यवस्थापनका दृष्टिले देशकै नमूना केन्द्र बन्दै जाँदा शैक्षिक थलो बनेको प्रमुख खाँणले दाबी गर्नुभयोे ।