स्याङ्जा ११ असोज । वालिङ नगरपालिकाले आँधीखोलाको दुबै तर्फ करिडोर बनाएको छ । झण्डै पाँच वर्षअघि निर्माणकार्य सुरु भएपनि करिडोर निर्माणलाई नगरपालिकाले पछिल्लो समय तीव्रता दिएको हो । करिडोर अन्तर्गत कतै कालोपत्रे समेत भइसकेको छ भने कतै नयाँ ट्रयाक बनाउने काम धमाधम भइरहेको छ ।
नगरपालिकाले आफ्नो गौरवको योजनाको रुपमा अघि सारेको ‘आँधीखोला करिडोर’को केही भाग कालोपत्रे भएपछि स्वरुप नै फेरिएको छ । कालोपत्रे भइसकेपछि सडकलाई राम्रो र व्यवस्थित गराउन सडक किनारामा फूल सहितका बिरुवा रोप्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ । थोरै मात्रामा कालोपत्रे गरिएको सडकले करिडोर नमुना देखिएको छ । सडकको कालोपत्रे भागलाई सकेसम्म सुन्दर बनाएरै निर्माण गर्ने नगरपालिकाको तयारी छ ।
आँधीखोला किनारको करिडोर कालोपत्रे गरिए पश्चात साँझ बिहान घुमफिर गर्नेको भिड नै लाग्ने गरेको स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो । कतिपय भने भिडियो, टिकटक र फोटो खिच्नका लागि आँधीखोला करिडोरमा पुग्ने गरेको स्थानीयको भनाइ छ । सडकले वालिङ र आसपासको स्वरुप नै फेरिदिएको उनीहरुको बुझाई छ ।
झण्डै ८ किलोमिटर लम्बाई रहेको नगरपालिका भित्रपर्ने आँधीखोलाको दाँयाबाँया दुवैतर्फ करिडोरको कच्ची लेन (बाटो) तयार भइरहेको छ । अधिकांश भागमा सडकको कच्ची लेन तयार भएको नगरप्रमुख कृष्ण खांणले बताउनुभयो । दुबैतर्फ कच्ची लेन निर्माणसँगै नाली तथा कालोपत्रे गर्ने काम दुर्तगतिमा अगाडी बढाएको प्रमुख खाँणको भनाइ छ ।
करिडोर अन्र्तगत थप झण्डै १६ किलोमिटर सडक निर्माण गर्ने पालिकाको गुरुयोजना छ । पहिलो चरणमा तीन सय ५० मिटर कालोपत्रे सम्पन्न गरिएको छ । पालिकाले गौरवको योजनाको रुपमा यसलाई अगाडि सारेको करिडोरलाई कम्तिमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने नगरपालिकाको आन्तरिक तयारी रहेको छ । करिडोरबाटै उत्तरीभेगको भीरकोट र दक्षिणभेगको गल्याङ् नगरपालिका जोड्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
संघीय सरकार र पालिकाको समान लागत साझेदारीको आधारमा पहिलो चरणको सडक कालोपत्रे गरिएको इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । पहिलो चरणमा दुई करोड ९० लाखबाट कालोपत्रेको काम सकिएको बताउनुभयो । चालु वर्षमा आँधीखोला करिडोरको वालिङ बजारबाट भुम्रेबजार तर्फको झण्डै १÷१ किलोमिटर सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडी बढाएको इन्जिनियर रेग्मीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गसँगै अन्य भित्री सडकको विकल्पका रूपमा ‘आँधीखोला करिडोर’ लाई हेरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सुनाए । आँधीखोला किनारका खेतीयोग्य जमिनको सदुपयोग गर्न र उपयोगिता बढाउनुको साथै वालिङको गरिमालाई उचो राख्न पनि नगरपालिका करिडोरको तिव्र विकासमा लागेको सुबेदी जानकारी दिनुभयो ।