स्याङ्जा १६ कात्तिक । स्याङ्जाको मालुङ्गा र पाल्पाको असेर्दीको सङ्गमस्थल कालीगण्डकी नदी तह उत्तरवाहिनी महामेला एवं दामोदर धर्मोत्सवको सोमबार २८ औं दिन हो । असोज २१ कोजाग्रत पूर्णिमादेखि सुरु भएको एकमहिने धर्मोत्सव कात्तिक १९ गते पूर्णिमाका दिन सकिदैछ ।
यसै क्रममा शनिवार भएको हरिबोधनी एकादशीका दिन हजारौं दर्शनार्थीले पुजाआजा तथा त्यसक्षेत्रको अवलोकन गरेका छन ्। विश्व इतिहासमै पहिलो पटक ५ अरब तुलसीपत्ताद्धारो सवा लाख शालीग्रामलाई पुजा गरिएको धर्मोत्सव आयोजक मूल समितिका संयोजक चैतन्य कृष्णले जानकारी दिनुभयो ।
उत्तरगण्डकी धामलाई दामोदरकुण्ड तथा मिनी मुक्तिनाथ धामको अर्को स्वरुपमा विकास गर्ने लक्ष्य सहित धार्मिक महामेला गरिएको कालीगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानले जनाएको छ । यो अवधीभर प्रवचन, बिभिन्न झाँकी सहितका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भजन किर्तन सहितका कार्यक्रमबाट भक्तजनहरुले आनन्द लिइरहेका छन् ।
पिपलको बोटमुनि स्थापित ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटर उत्तर तर्फ बहेकी कालीगण्डकी स्नान, २० फिट अग्लो शिवको मुर्ति, शंख, गुफा, एक सय ८ वटा धारामा नुहाउने, सुर्यअस्तपछिको गंगा आरती लगायतका संरचनाले सबैलाई लोभ्याउने गरेको छ । हिन्दुधर्मालम्बीहरुका आस्था र विश्वासले सिर्जित पवित्र तिर्थस्थल कालीगण्डकी स्नान र शालीग्रामको पुजनको महिमा अपार मानिन्छ ।
कालीगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णका अनुसार, ‘धर्मशास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ मानिएको छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यस क्षेत्रलाई त्तरवाहिनी भनिएको हो। जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुने विश्वास छ ।’
१८ पूराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवम् सवा लाख शालग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने उहाको भनाई छ । हामी सबैको साझा कार्यक्रम र धर्मोत्सव भएकाले हजारौंको उपस्थिती साथ र सहयोग मिलेको अध्यक्ष कृष्णको भनाई छ ।

धर्मोत्सवमा बिभिन्न पिठाधिश, सन्त, महन्त तथा प्रवचकहरुले दिनहुँजसो धार्मिक, सांस्कृतिक, सामाजिक प्रवचन दिने गरेका छन ्। हरिद्वार लगायत भारत र नेपालका विभिन्न स्थानहरुबाट प्रशिद्ध सन्तगुरुहरु समेत आएका छन ्। जसका कारण अहिले स्याङ्जाको दक्षिणी भेग तथा पाल्पाको उत्तरी भेग निकै चलायमान बनेको छ। नेपालका करिब ७० जिल्लाबाट र भारतबाट पनि हजारौंका संख्यामा दर्शनार्थी एवं पर्यटकको ओइरो लागेको छ।
दर्जनार्थी, सहयोगदाता एवं बिभिन्न देशहरुबाट पनि सहयोग प्राप्त भैरहेको छ । एक हजार भक्तजनहरुका लागि आवास र साधना सहितको धर्मशाला, सनातन संस्कृति संरक्षणको लागि गुरुकुलम पाठशाला, सेवा कार्यका लागि यज्ञशाला, गौशाला र भक्तहरुको भोजन प्रसादीका लागि पाठशाला निर्माण गर्ने उद्देश्यले महामेलाको आयोजना गरिएको प्रतिष्ठानका संरक्षक शंकरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
धार्मिक कार्यक्रम सहितको चक्रशिलाको दर्शन, कालीगण्डकी स्नान, शिवको दर्शन, लगायतका अवसर विरलै मिल्ने जनाउदै धर्मोत्वसमा आएको ब्यवसायी नवराज सुवेदीले बताउनुभयो ।

महामेला मूल आयोजक समिति संयोजक चैतन्य कृष्णले कार्यक्रम अवधिभरमा १ करोड भन्दा धेरै खर्च हुने अनुमान रहेको जानकारी गराउनुभयो । यहाँ टाढाबाट आउने तथा यही बस्न रुचाउनेका लागि खान, बस्नको सुबिधा छ । धर्मोत्सवबाट बचत दान रकमबाट उद्देश्य अनुरुपका पवित्र कार्यहरुमा लगानी गरिने उहाले बताउनुभयो ।
नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीवर्चन सहितको आध्यात्मिक लाभलिने अवसरलाई सहभागी भएर आफ्नो जीवनलाई रसमय, क्लेस रहित र दिव्य आनन्दमय बनाई अपूर्व लाभ लिन प्रवचक नेत्रप्रसाद परालुलीले बताउनुभयो ।
कालीगण्डकीको महिमा र शालीग्रामको महत्वलाई संसारभर चिनाउन र धार्मिक पर्यटनलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्ने उदेश्य रहेको प्रतिष्ठानले जनाएको छ । धार्मिकसभामा सहभागी हुनुकासाथै उत्तरबाहिनी क्षेत्रको अध्ययन अवलोकन गर्न पाउनु पनि अर्को सुखद पक्ष रहेको छ ।
