स्याङ्जा ४ भदौ । ठकुरी समाज स्याङ्जाको महिला समितिले बुधवार हरितालिका तीजको अवसर पारेर शुभकामना आदानप्रदान सहित सामुहिक दर खुवाउने कार्यक्रम गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित समाजको भवनमा आयोजित कार्यक्रममा समाजका संरक्षक एवं गण्डकी प्रदेशसभा पूर्वसदस्य भागवतप्रकाश मल्लले उदघाटन गर्दै तीज पर्वको शुभकामना सहित ठकुरीबीचको एकता बढाउनु पर्ने बताउनुभयो । तीज पर्वको सामाजिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व रहेको बताउदै मौलिकपन जोगाउदै मनाउनु पर्नेमा जोड दिए । तीज पर्वले सामाजिक सदभाव बढाएका हुदाँ सबै महिला दिदीबहीनीहरुको साझा पर्वका रुपमा विकास हुदै गएको उहाको भनाई छ ।
कार्यक्रममा समाजका पूर्व केन्द्रिय उपाध्यक्ष जितेन्द्रप्रकाश मल्ल, समाजका जिल्ला अध्यक्ष खमनबहादुर खाँण, वरिष्ठ सल्लाहकार सोमबहादुर मल्ल, वडा सचिव राम पोखरेल लगायतले तीज पर्वको शुभकामना दिदै परम्परागत संस्कृतिक पर्वलाई जोगाउदै मनाउनु पर्नेमा जोड दिनुभयो ।
ठकुरी समाज महिला समिति सदस्य कमला सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य एवं सल्लाहकार तारा मल्लले स्वागत एव जिल्ला सचिव सोबिता मल्लले संचालन गर्नुभएको थियो । शुभकामना पछि सामुहिक दर खाने र नाच गान गरिएको समाजले जनाएको छ ।