स्याङ्जा १० कात्तिक । नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसर पारेर शनिवार नेपाल तरुण दल स्याङ्जाले खुला रक्तदानको आयोजना गरेको छ ।
भीरकोट नगरपालिका १ स्थित बयरघारीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। रक्तदातालाई ब्याग हस्तान्तरण गर्दै गण्डकी प्रदेश पूर्वमन्त्री एवं नेपाल तरुण दल पूर्व केन्द्रिय सदस्य मेखलाल श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
रगतदान जीवन दान भएकाले रगतदान गरेर पुण्य कमाउन पूर्वमन्त्री श्रेष्ठको सुझाव छ । रगतदान पूर्व चिकित्सकिय परिक्षण एवं सुझाव लिएर मात्र रगतदान गर्नुपर्ने उहाको भनाई छ । दान गरेको रगतले धेरैले पुर्नजीवन पाएकाले यस्ता सामाजिक कार्यमा सहयोग गर्नुपर्ने उहाले भन्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद महेश भट्टराई, निवर्तमान सांसद भागवतप्रकाश मल्ल, तरुण दलका उपसभापति रविन केसी, सचिव चन्द्र राना लगायतले रगतको अभाव सुनिएका बेला तरुण दलले गरेको सामाजिक कार्यले समाजमा सकारात्मक प्रभाव पार्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा सक्रिय तरुण दलले १ सय ६ पिन्ट रगत संकलन गरेको छ। संकलित सो रगत जिल्ला अस्पताल स्याङ्जा स्थित ब्लड बैंकमा राखिने र आवश्यकता अनुरुप आमनागरिकलाई उपलब्ध गराईने तरुण दल स्याङ्जाले जनाएको छ ।
नेपाली कांग्रेसको बलियो मेरुदण्डका रुपमा रहेका तरुण दलले स्थापना कालमा गरेको सामाजिक सेवाले सकारात्मक सन्देश दिएको रगतदान गर्ने युवाहरुको भनाई छ ।