स्याङ्जा, १८ भदौ । चिसो मौसममा पाईने स्याङ्जाका रसिला सुन्तला भण्डारण गरेर गर्मियाममा बेच्न सके कृषकले कम्तिमा दोब्बर मुल्य पाउने थिए । सुन्तला पाक्ने मौसम शुरु भएसँगै जिल्लाका कृषकलाई सताउने एउटै चिन्ता छ, सुन्तलाले यो वर्षपनि उचित मुल्य पाउँदैन् । कृषकको यस्तै चिन्तालाई अन्त्य गर्न जिल्लामा झण्डै १५ वटा शीतभण्डार निर्माण गरियो ।
कृषकले उत्पादन गरेका वस्तुको उचित मुल्य पार्न २२ करोडको लागतमा बनेका १५ शीतभण्डार संचालनमा छन् । जिल्लाका ११ मध्ये ९ पालिकामा एक हजार ८५० मेट्रिकटन क्षमताका शीतभण्डार निर्माण भएको छ । आवश्यक जनशक्तिको अभाबमा ठूला शीतभण्डार चलेकै छैन् । करोडौ खर्चेर बनेका सामान्य रुपमा चलेका अधिकांश शीतभण्डार आलु भण्डारणमा सिमित बन्न पुगेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ११ सुम्रेखोलामा जिल्लाकै ठूलो एक हजार तिन सय मेट्रिकटन क्षमताको शीतभण्डार छ । १४ करोड खर्चेर निर्माण भएको शीतभण्डार आलु भण्डारण गरेर राखिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ नारायण पाठकले बताउनुभयो । भण्डारण क्षमताका आधारमा गल्याङ् नगरपालिकाको जिमुवामा तिन करोड ४० लाखको लागतमा जिल्लाको दोस्रो ठूलो तिन सय मेट्रिकटन क्षमताको शीतभण्डार बनेको अर्थविज्ञ पाठकले जानकारी दिनुभयो ।
जिल्लाको वालिङ नगरपालिकास्थित त्रियासी र मिर्दिमा एक करोड २० लाख खर्चेको ५२ र १० मेट्रिकटन क्षमताका दुई वटा शीतभण्डार छन् । फेदीखोला गाउँपालिकाको सर्केटारी र फेदीखोलामा ६९ लाखमा बनेका २० र १० मेट्रिकटनका दुई शीतभण्डार रहेको छ । बिरुवा गाउँपालिकामा ३९ लाखमा बनेको ३० मेट्रिकटन क्षमताका दुई, आँधीखोला गाउँपालिकामा ६७ लाख खर्चमा बनेका दुई र अर्जुनचौपारी गाउँपालिकामा ३२ लाख खर्चेर बनेको १०÷१० मेट्रिकटन क्षमताका दुई शीतभण्डार रहेका छन् ।
त्यस्तै कालिगण्डकी गाउँपालिकामा ९० लाख लागतमा बनेको ५४ मेट्रिकटन र पुतलीबजार नगरपालिका–१४ लामागेमा २३ लाखमा बनेको १० मेट्रिकटन क्षमताको शीतभण्डार छन् । जिल्लाकै चापाकोट नगरपालिकामा प्रदेश सरकारको अनुदानमा बन्दै गरेको शीतभण्डार निर्माणको अन्तिम चरणमा पुगेको केन्द्रका सुचना अधिकारी विकास विकले बताउनुभयो ।
जिल्लाका सुन्तला तथा सरकारी उत्पादक कृषकले शीतभण्डार व्यवस्थित बनाएर चलाउन माग गरेका छन् । करोडौ खर्चमा बनेका शीतभण्डारबाट कृषकले उचित लाभ उठाउन नपाएको सुन्तला उत्पादक फणिनारयाण अर्यालले बताउनुभयो । शीतभण्डारको संरचनासँगै प्रविधि ल्याएपनि उपयोग गर्न नपाउँदा राज्यको करोडौ मुल्य थुप्रिएको छ भने कृषक लाभ लिनबाट बञ्चित भएको बताउँदै अर्यालले भन्नुभयोे, ‘कृषकलाई शीतभण्डार ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेजस्तै भएको छ ।’
सुन्तला पाक्ने मौसममा गएकै वर्ष करिब १७० कृषकले जिल्लाकै ठूलो सुम्रेखोलास्थित शीतभण्डारमा भण्डारण गरेको १६० मेट्रिकटन सुन्तला कुहिँदा झण्डै ८५ लाखको क्षति पुगेको थियो । शीतभण्डारमा जडित प्रविधि चलाउन नजान्दा, हातले टिपेको सुन्तलामा ढुँसी छिटो फैलने हुँदा कृषकले ठूलो क्षति व्यहोर्न बाध्य भए । शीतभण्डारबाट लाभ लिन प्रविधिमा दक्ष जनशक्ति र सुन्तला टिप्न आधुनिक विधि अपनाउँनु पर्नेमा कृषि विज्ञ पाठकले जोड दिनुभयो ।
स्याङ्जामा २० हजार ८४ मेट्रिकटन सुन्तला उत्पादन गर्दा गएकै वर्ष कृषकले एक अर्ब १२ करोडको कारोबार गरे । २२ करोडको शीतभण्डारमा सुन्तला, तरकारी भण्डारपछि उचित मुल्य पाईने वस्तु राख्नुपर्नेमा सामान्य मुल्यको आलु भण्डारण गरिएको छ । आलु मात्रै भण्डारण गर्दा शीतभण्डार संचालनार्थ विद्युत, कामदार लागत खर्च समेत अपुग भएको वालिङस्थित त्रियासी कृषि उपज व्यवस्थापन शीतभण्डारका प्रबन्धक युवराज रेग्मीले बताउनुभयो ।
जिल्लामा सुन्तला लगाउने कृषकको संख्या दिनानुदिन बृद्धि हुँदै गएको छ । केहि वर्षअघि लगाएको सुन्तलाले उत्पादन दिन थालेपछि उत्पादनमा समेत बृद्धि आउनेछ । शीतभण्डारको आवश्यकता बढ्दै गएको छ । करोडौ खर्च गरेर बनाएको शीतभण्डारको उचित प्रयोगमा नआउनुले कृषकहरुमा नौराश्यता थपेको सुन्तला उत्पादक कृषकको भनाई छ ।