स्याङजा २७ साउन । गण्डकी प्रदेश सरकारले स्याङ्जामा रहेका पर्यटन तथा उद्योग कार्यालय स्याङजा र सामाजिक विकास कार्यालय स्याङ्जा शाखालाई कास्की शाखामा समायोजन गर्ने निर्णयलाइृ पुनरावलोकन गर्न स्याङ्जाका उद्योग ब्यवसायी सहित स्थानीयबासीले सामुहिकरुपमा अनुरोध गरेका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको पहलमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री मन्त्रिपरिषद कार्यालय सिंहदरवार काठमाण्डौंलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।
प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदनको सिफारिसको आधार मान्दै सोमबार प्रदेश मन्त्रिपरिषद कार्यालले पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा र पर्यटन तथा उद्योग कार्यालय कास्कीलाई पुनसंरचनागरि पर्यटन तथा उद्योग कार्यालय कास्कीलाई स्याङ्जा र कास्कीको कार्यक्षेत्र तोक्नेगरि निर्णय गरेको थियो ।
स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, वालिङ् उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल, चापााकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना, गल्याङ् उद्योग वाणिज्य संघका अध्यक्ष बलराम श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मित्रबन्धु पोखरेल, महिला उद्यमी संघ स्याङ्जाका अध्यक्ष चन्द्रकला रानाले संयुक्तरुपमा हस्ताक्षर गर्दै प्रदेश सरकारको निर्णयलाई पुनराबलोकनगरि स्याङ्जामा रहेका कार्यालयलाई यथास्थान (स्याङ्जा) मै राख्न अनुरोध गरेका हुन । जिल्लाबाट सर्वसुलभ सेवा पाइरहेका बेला संघीयताको मर्म विपरित सामान्य कामका लागि पनि पोखरा धाउनुपर्ने वाध्यात्मक परिस्थिती सिर्जना गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा, ‘गण्डकी प्रदेश अन्तरगतका जिल्ला स्थित सरकारी कार्यालय र निर्देशनालय खारेज तथा समायोजन गर्ने प्रदेश मन्त्रिपरिषदको निर्णयबाट स्याङ्जा जिल्लाका हजारौं सेवाग्राही प्रभावित हुने छन । पर्यटन तथा उद्योग कार्यालयमा ब्यवसाय दर्तागरी उद्योग ब्यवसाय संचालन गरिरहेका जिल्लाका सेवाग्राहीहरुले ब्यवसाय दर्ता, नविकरण र बन्द गर्ने लगायतका कामको लागि हजारौं रकम र समय खर्चेर पोखरा जानुपर्ने अवस्था भएको छ ।
सदरमुकाम स्याङ्जा बजार सुनसान हुदै गएको र आर्थिक गतिबिधिहरु पनि ठप्प रहेका बेला लाखोै करोडौ लगानी गरिएका कृषिजन्य, घरेलु तथा साना उद्योगहरु संकटग्रस्त अवस्थामा छन । स्याङ्जा जिल्लालाई उपेक्षा गर्दे गरिएका उक्त निर्णयलाई अविलम्ब पुनविचारगरी आर्थिक चलायमान सहित उद्योग ब्यवसाय फस्टाउने कार्यमा सहयोग गर्ने वातावरण बनाइदिनुहुन संयुक्त ध्यानाकर्षणपत्र बुझाएका छौं।’ भनी उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले ध्यानाकर्षणपत्र तत्काल सम्बन्धित निकायमा प्रेषित गर्ने जानकारी गराउनुभयो ।
ध्यानाकर्षणपत्र बुझाउनुपूर्व स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको सभाहलमा भएको संयुक्त बैठकमा दुबै कार्यालय स्याङ्जा सदरमुकामबाट नहटाउन अनुरोध गर्ने र सो अनुरोधलाई वेवास्तागरे बिभिन्न चरणबद्ध दवावमूलक कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
बैठकमा घरेलु तथा साना उद्योग महासंघका पूर्वकेन्द्रिय सदस्य देवेन्द्रकुमार श्रेष्ठ, केन्द्रिय सदस्य लक्ष्मी प्रधान, च्याम्बर अफ कमर्शका प्रथम उपाध्यक्ष राजु अधिकारी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष शा खालिद मिया, महासचिव रविन केसी लगायतले स्याङ्जा सदरमुकामबाट यी कार्यालय समायोजन हुने निर्णयप्रति दुख ब्यक्त गर्दै निर्णय सच्चाउन अनुरोध गरेका छन ।