स्याङ्जा ८ मंसिर । आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा समग्रमा स्याङ्जामा संघीय सरकारको बजेटतर्फ झण्डै २८ प्रतिशत खर्च भएको छ भने प्रदेश सरकारतर्फको बजेटमा ७ प्रतिशत भन्दा बढि रकम खर्च भएको छ ।
संघतर्फ विनियोजित कुल बजेट ७ अर्ब ४९ करोड ९७ लाख ३४ हजार ५७५ रुपैयाँमध्ये करिब २७ दशमलब ८४ प्रतिशतले हुने दुई अर्ब ८ करोड ७७ लाख ६ हजार ९०७ रुपैयाँ खर्च भएको छ भने प्रदेशतर्फको कुल दुई अर्ब ५३ करोड १० लाख ६६ हजार बजेटको झण्डै ७ दशमलब १० प्रतिशत अर्थात १७ करोड ९८ लाख २९ हजार २२९ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले जनाएको छ ।
संघ सरकारको कुल बजेटमध्ये चालु खर्च शिर्षकमा विनियोजित ७ अर्ब ४२ करोड ७ लाख ७२ हजार ५७५ रुपैयाँमध्ये दुई अर्ब ७ करोड ६२ लाख ९६ हजार ५२१ रुपैयाँ अर्थात झण्डै २८ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संघीय बजेटको पुँजीगत शिर्षकको ७ करोड ८९ लाख ६२ हजारमध्ये १४ दशमलब ४५ प्रतिशत अर्थात एक करोड १४ लाख १० हजार ३८६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाका प्रमुख थमनारायण शर्माले जानकारी दिनुभयो ।
प्रदेश सरकारतर्फको कुल बजेटमध्ये चालु शिर्षकमा ७६ करोड ७० लाख १२ हजार विनियोजन भएकोमा करिब ११ दशमलब ४१ प्रतिशत अर्थात ८ करोड ७५ लाख ४३ हजार ५३८ खर्च भएको छ भने पुँजीगत खर्चतर्फको एक अर्ब ७६ करोड ४० करोड ५४ हजार बजेटको झण्डै ५ दशमलब २३ प्रतिशतले हुने ९ करोड २२ लाख ८५ हजार ६९१ खर्च भएको कोष नियन्त्रक कार्यालय स्याङ्जाले जनाएको छ ।
पुँजीगत शिर्षकको तुलनामा चालु खर्च शिर्षकमा धेरै प्रतिशत रकम खर्च देखिएको कोष तथा लेखा नियन्त्रक प्रमुख शर्माले बताउनुभयो । ‘चालु खर्च शिर्षकको रकम प्रत्येक महिना तलब भत्तामा निकासी र सार्वजनिक खरिदमै खर्च हुने भएकाले प्रतिशतमा बढि देखिएको हो ।’ शर्माले भन्नुभयो, ‘चालु खर्च शिर्षकको तुलनामा अब विकास निर्माणका गतिविधिले तिव्रता लिएसँगै पुँजीगत शिर्षकको बजेट खर्चमा ह्वात्तै वृद्धि हुन्छ ।’ जिल्लाका विकासे अड्डाहरु ठेक्का निकालेर कामगर्ने अन्तिम तयारीमा जुटेको नियन्त्रक शर्माले बताउनुभयो ।
यस अवधिमा संघीय कर राजश्व शिर्षकमा ११ करोड ७० लाख ५२ हजार, अन्य राजश्वमा दुई करोड ७१ लाख ७१ हजार १३२ रुपैयाँ, विविध प्राप्ती राजश्वतर्फ ४४ लाख एक हजार ४७५ र बाँडफाँड हुने राजश्व शिर्षकमा तीन करोड ६६ लाख ८३ हजार ३४७ रुपैयाँ गरी १८ करोड ५३ लाख ८ हजार ९१२ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी प्रदेश सरकारतर्फको कर राजश्वमा दुई करोड ६५ लाख ४६ हजार ८७८ रुपैयाँ, अन्य राजश्व शिर्षकमा ७३ लाख ६६ हजार ७२१ विविध प्राप्तीतर्फ ५१ लाख ६३ हजार ८६१ र बाँडफाँड हुने राजश्वमा दुई करोड ३८ लाख ५८ हजार २५५ रुपैयाँ गरी विभिन्न शिर्षकमा गरी ६ करोड २९ लाख ३५ हजार ७१५ रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ ।
