स्याङ्जा १० मंसिर । प्रतिनिधिसभा सदस्य राजु थापाले सदरमुकाममा योग केन्द्र निर्माणका लागि आफुले पहल एवं सहयोग गर्ने बताउनुभएको छ ।
स्याङ्जा सदरमुकाममा आयोजित स्वजागरण कार्यक्रमको आइतवार उदघाटन गर्दै सांसद थापाले योगद्धारा शारिरीक एवं मानसिक स्वस्थयता रहने जनाउदै स्थानीय सरकारहरुले यस कार्यको सुरुवात गर्नुपर्ने बताउनुभयो ।
‘नेपाल ऋषिमूनिहरुको तपोवन हो। नेपाली भूमि नेपाल योग र साधनाका लागि उपयुक्त छ । योगाभ्यासले ब्यक्तिलाई स्वअनुशासित र स्वस्थ्य रहने भएकाले पनि योग केन्द्रको आवश्यक छ । योगाभ्यासलाई बुझेकै कारण हिजोआज पश्चिमा देश लगायत विश्वभर योगाभ्यास बढ्दै गएको छ।’ सांसद थापाले भन्नुभयो ।
योग, ध्यान, साधनालाई बिद्यालयस्तरदेखि नै सिकाउनु पर्नेमा उहाले जोड दिनुभयो । शारीरिक एवं मानसिक स्वस्थ्यताका लागि स्वजागरण अभियानसंगै नियमितरुपमा योग, ध्यान, साधना गरेमा सोच र कार्यमा सकारात्मकता देखिने उहाको भनाई छ।
एघार स्थानीय पालिका सहित जिल्ला समन्वय समिति स्याङ्जाको आयोजना, जीवन विज्ञान परिषदको सहकार्य, तथा प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रको ब्यवस्थापनमा पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित पूर्णस्वास्थ्य सुख, शान्ति र समृद्धीका लागि स्वजागरण अभियान गरिएको हो ।
सुख, शान्ति र समृद्धि प्राप्तिका लागि सबैभन्दा पहिला स्वजागरण अभियान आफुबाटै सुरु गरेर आफैं स्वस्थ्य बनौ, स्वस्थ्य सोचौं, स्वस्थ्य ब्यबहार गरौं भन्दै मानसिक एवं शारीरिक ब्यायाम गरिएको थियो ।
जीवन विज्ञानका अभियन्ता भानु गुरुदेवले झण्डै ५ घण्टा शारीरिक एवं मानसिक ब्यायाम, योगा प्रशिक्षण लगायत जागरण अभियानका बारेमा प्रशिक्षित गराउनुभयो । नेपाल उपयुक्त स्थान रहेको बताउदै सबैले योग र ध्यानमा जोड दिनुपर्ने गुरुदेवको भनाई छ। नियमित योग र ध्यानले जीवनको नयाँ कथा लेख्न सकिने उहाका भनाई छन ।
जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख खडगराज सुवेदीले स्वागत एवं कर्मचारी मिलन केन्द्रका सहसचिव सुरेश सुवेदी संचालन गर्नुभको थियो ।
शिविरमा जनप्रतिनिधि, जिल्ला स्थित राजनीतिक दलहरु, उद्योग, ब्यवसायी, बिद्यार्थी, शिक्षक लगायत स्थानीयबासीगरी शिविरमा झण्डै ३ सय जना सहभागि थिए ।