स्याङ्जा २५ साउन । चाडपर्व नजिकिदै गर्दा स्याङ्जा प्रशासनले उपभोक्ता हक, हित र अधिकारलाई मध्यनजर गर्दै अनुगमन कार्य सुरु गरेको छ ।
चाडबर्ष सुरु भएसंगै उपभोक्ताका स्वास्थ्यलाई ध्यान दिदै आर्थिक बर्ष सुरु भएसंगै स्याङ्जा प्रशासनलेआइतवार घुमित बजारका खाद्यान्न तथा किनारा पसलहरुका अनुगमन तथा निरीक्षण गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले सदरमुकाममा रहेकोे ब्यस्त बजार घुम्ति — दुर्गानगरका किनारा पसलहरुको अनुगमन गरेको हो ।
पुतलीबजार नगरपालिका १ स्थित घुम्ति—चिसापानी मार्ग अन्र्तगतको सो बजारका झण्डै एक दर्जन पसलका अनुगमन तथा निरीक्षण गर्दा अधिकांश पसलमा राखिएका पेय पदार्थमा म्याद गुज्रेको भेटिएको थियो । यसैगरी, करेन्ट मम मसला, चाट मसला, सेन्चुरी मरिच धुलो, अचार मसला, करेन्ट चाउमिन मसला, सेन्चुरी चाउमिन मसला, पानीपुरी मसला, यिर्बानी मसाली , चिज बल्स, लेज लगायतका केही फास्टफुडका समेत म्याद गुज्रेको भेटिएको थियो ।
यसैगरी, पसल दर्ता नगरी चलाइएको, सामाग्रीको मूल्य सूची नराखिएको, मूल्य एकरुपता नभेटिएको, लेवल र तौल नलेखि खाद्यान्न सामाग्री प्याकिङगरी बिक्री गर्दै आएको भेटिएको थियो ।
पसलधनीलाई आवश्यक काजगात र प्रक्रिया पुरा गरि पसल संचालन गर्न र खाद्यान्न सामाग्री खरिद गर्दा ध्यानपूर्वक सामाग्री बनाइएको र म्याद कायम रहने मिति अध्ययनगरि खरिद गर्न, म्याद गुज्रेका सामाग्री नवेच्न, म्याद गुज्रेका सामाग्रीलाई एउटा कर्नरमा सुरक्षित राख्न र प्रचलित ऐन कानून बमोजिम आफना पसल तथा ब्यवसाय संचालन गर्नुका साथै उपभोक्ताका हित र अधिकारलाई ध्यान दिन सहायक प्रजिअ दिपक पौडेलले सुझाव दिनु भएको छ ।
म्याद गुज्रेका त्यस्ता अखाद्य चिजबस्तुलाई अनुगमन टोलीले नष्ट गर्नेगरि उठाएको छ ।
अनुगमन टोलीमा पुतलीबजार नगरपालिकाका शाखा अधिकृत धनप्रसाद कोइराला, पर्यटन तथा उद्योग कार्यालयका शाखा अधिकृत खुमलाल ढकाल, च्याम्बर अफ कर्मशमा रुद्रबहादुर विश्वकर्मा, उपभोक्ता हित संरक्षण मंचका सचिव विश्वनाथ पौडेल, प्रहरी नायक निरिक्षक दुर्गाबहादुर रानाभाट लगायतको सहभागिता थियो ।