स्याङ्जा २ पुस । पुतलीबजार नगरपालिका १२ निवासी प्रितम गुरुङलाई उहाको निवासमा पुगेर स्याङ्जा प्रशासनले नागरिकता उपलब्ध गराएको छ ।
करिब २ बर्षअघि रुखबाट खसेपछि अपांगता भएका प्रितमको ढाड भन्दा तलको भाग चल्दैन । जसका कारण उहा डिडडुल पनि गर्न सक्नुहुन्न । बिस्तारमा सुतिरहनु पर्ने उहाको अवस्था छ ।
खिलप्रसाद गुरूङ र डम्बरकुमारी गुरूङका १६ बर्षिया छोरा प्रितम नागरिकता बनाउनका लागि कार्यालयसम्म आउजाउ गर्न कठिनाई भएको जनाएपछि उहाकै घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिनुभयो ।
सप्रजिअ पौडेलका अनुसार, ‘प्रशासकीय अधिकृत शोभाखर पोखरेल र नायब सुब्बा जगुलाल पाण्डे सहितको टोली पुगेर सोमबार दिउसो नागरिकताको प्रमाणपत्र दिएको हो।’ प्रशासन टोली घरमा पुग्दा पिढीमा सुतिरहेका प्रितमलाई सोही अवस्थामै नागरिकता दिएको बताइएको छ।