स्याङ्जा ३० जेठ । सुनचाँदी व्यवसायी संघ स्याङ्जाले सुनचाँदी, हिरा लगायतका बहुमुल्य वस्तुहरुमा कर लगाउने सरकारको निर्णयका विरुद्ध शुक्रवार स्याङ्जा सदरमुकाममा विरोध र्याली गरेको छ ।
संघले विरोध र्याली सहित प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई प्रेस विज्ञप्ती बुझाएको छ । आगामी आर्थिक वर्षको बजेट बक्तव्य मार्फत् घोषणा गरेको सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगायतका बहुमुल्य वस्तुहरुमा १३ प्रतिशत भ्याट लगाउने नेपाल सरकारको निर्णय विरुद्ध सुनचाँदी व्यवसायी संघ स्याङ्जाले विरोधका कार्यक्रम गरेको हो ।
पुतलीबजार नगरपालिका १ स्थित बीपी चोकबाट सुरु भएको र्याली शहिद चोक बैंक रोड हुदैं जिल्ला प्रशासन कार्यालय गेटमा गएर कोण सभामा परिणत भएको थियो ।
यसअघि जेठ २५ मा सुनचाँदि व्यवसायी सँघ स्याङ्जाले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाँएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले केहि दिन अघि प्रेस विज्ञप्ती निकाल्दै सुन लगायतका बहुमुल्य वस्तुमा लगाएको कर खारेज गर्न सरकारसंग माग गर्ने र छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिईने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने लगायतका माग राखेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतका जिल्ला, नगर, वस्तुगत तथा एशोसियट संघहरुलाई विरोधका कार्यक्रम गर्न आग्रह गरिएको थियो ।
महासंघको केन्द्रिय सर्कुलर अनुसार सुनचाँदी व्यवसायी संघ स्याङ्जाले पनि जेठ २९ र ३० गते (हिजो र आज ) विभिन्न विरोधका कार्यक्रम गरेको हो । व्यवसाय बन्द गरिएको र महासंघबाट निर्देशन भए अनुसार अन्य विरोधका कार्यक्रम तय गरिएका छन् । सुनचाँदि व्यवसायीहरुको व्यवसायको लागी स्पष्ट नीति नियम बनाउन समेत माग गरिएको छ ।
सुनचाँदि व्यवसायी संघ स्याङ्जाका अध्यक्ष लेखनाथ गहतराजको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रुद्र विश्वकर्माले गर्नुभएको थियो ।