स्याङ्जा ५ मंसिर । फेदीखोला गाउँपालिकामा सम्पन्न आठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयले उपाधि जितेको छ ।
फेदीखोला रंगशालामा तीन दिनसम्म चलेको प्रतिस्पर्धामा सिद्धार्थ माविले १८ स्वर्ण, छ रजत र चार कास्यसहित उपाधि जितेको हो । उपाधि विजेता सिद्धार्थ माविले शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र र ३० हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ७ कास्य जितेको चण्डीडाँडा माध्यमिक विद्यालय दोस्रो भएको थियो । चार स्वर्ण, १२ रजत र १२ कास्यसहित दामगाडे मावि तेस्रो बनेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता विधाहरू समावेश थिए ।
यसैगरी, भलिवलतर्फ छात्रमा उत्कृष्ट स्पाईकर आयुष भुजेल, उत्कृष्ट सेटर किरण कुवँर, उत्कृट ब्लकर समीर सुनार घोषित भएका छन् । भलिवलकै छात्रातर्फ, बबिता परियार र उत्कृष्ट मार्चपासमा सिद्धार्थ मावि प्रथम भएको छ ।
खेलकुदमार्फत विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
विजेता तथा उपविजेताहरूलाई फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पालिकाभित्रका ११ विद्यालयबीच प्रतिस्पर्धा भएको थियो ।
