स्याङ्जा २३ मंसिर । भष्ट्राचार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले मंगलबार ३ बुदें आग्रह सहितको ब्यानर लिएर जिल्ला सदरमुकाम अर्थात मुख्य बजारमा प्रर्दशन गरेको छ ।
भ्रष्ट पात्र र प्रबृत्तिलाई इतिहासले खारेज गरिसक्यो, दण्डित गर्नु सुशासनको माग हो, भ्रष्ट शिर्ष नेतालाई कारवाही खोइ ? नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ? सुशासनका लागि आर्थिक दण्डहीनता अन्त्य गर भन्ने बुँदाका नारा सहित पुतलीबजार नगर परिक्रमा गरिएको हो ।
पुतलीबजार नगरपालिका १ स्थित मुख्यबजारको परिक्रमागर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाको प्रवशेद्धारमा पुगेर समापन गरिएको थियो ।
प्रर्दशन कार्यक्रमलाई समापन गर्दै मानवअधिकार तथा शान्ति समाज स्याङ्जाका सभापति भवानी अधिकारीले आन्दोलनका दौरानका भएका ध्वंस, लुटपाट, तोडफोडमा जिम्मेवारहरुलाई कानूनी कारवाही सुनिश्चितगरी मानवअधिकार संस्कृति निर्माण गर्नुपर्ने बताउनुभयो । समाजमा भयरहित वातावरणमा जीउन पाउने अधिकार र वातावरण सृजना गर्नका लागि र भ्रष्ट चरित्र र भ्रष्ट आचरणको अन्त्यका लागि मानवअधिकार तथा शान्ति समाजले प्रर्दशन गरेको उहाले जानकारी गराउनुभयो ।
प्रर्दशनमा मानवअधिकार तथा शान्ति समाजका पदाधिकारी, पूर्व सभापति, आजीवन सदस्य, ब्यवसायी, नागरिक समाज, पत्रकार, स्थानीय नागरिक सहितको समूहले नगर परिक्रमा गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष डिसेम्बर ९ तारिखमा विश्वभर भ्रष्टाचारविरुद्धको दिवस मनाउने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचारविरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो ।
सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको छ । महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचारविरुद्ध नेपालमा पनि विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर पनि भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन ।
