स्याङ्जा ३१ जेठ । पुतलीबजार नगरपालिकाद्धारा नवगठित विज्ञ समितिले नगरपालिकाबाट दिईने कुनै पनि किसिमको सेवा सुबिधा नलिने निर्णय गरेको छ ।
नगरपालिकाद्धारा आयोजित शाखा प्रमुख सहित बिभिन्न बिषयगत समितिका संयोजक तथा सदस्य सचिवबीच आयोजित छलफल कार्यक्रममा बोल्दै बिज्ञ समिति संयोजक भरत लम्सालले पालिकाद्धारा उपलब्ध गराईने कुनै किसिमका सेवा, सुबिधा र भत्ता समेत नलिने बताउनु भएको हो ।
‘स्थानीय पालिका र नगरबासीबीच सेतुभई आवश्यक सहयोग गर्न हामी तयार छौं। पालिकाबाट दिईने सेवा र सुबिधा भने लिने छैनौं ।’ संयोजक लम्सालका थप्नुभयाृे, ‘नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी सहित नगरबासीको सहयोगको अपेक्षा गर्दछौ ।’
त्यसो त, समितिको पहिलो बैठकले नगरपालिकाको कुनै पनि किसिमका सेवा सुबिधा वापतका रकम नलिने निर्णय गरिसकेको छ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १४ को उपदफा (२) र (३) मा भएको व्यवस्था अनुसार नगर स्तरीय बिज्ञ समिति गठन गर्ने निर्णय गरेको हो । यही जेठ १७ गते बसेको कार्यपालिका बैठकले भरतप्रसाद लम्सालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको संयोजकमा लम्साल सहित ध्रुवबन्धु पौडेल, भवानी अधिकारी, बोधराज अर्याल र मनोज मल्ल मनोनित गरिएको हो ।
समितिले शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास, सूचना प्रविधि, वन वातावरण, महिला, दलित, बालबालिका र जेष्ठ नागरिकका विषयमा नगरपालिलाई आफ्नो विज्ञता अनुसार नीति निर्माण, निर्णयमा राय, सरसल्लाह र सुझाब दिनसक्ने पुतलीबजार प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बिभिन्न शाखाबाट सम्पादित भए गरेका र अब गरिने काम बारेमा जानकारी गराइएको थियो भने बिभिन्न बिषयगत समिति गतिबिधि सहित निती तथा कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।