स्याङ्जा १९ असोज । सरकारले आज (आइतवार) र भोलि (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । देशभर लगातार ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिँदै विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
वर्षाका कारण हुनसक्ने बाढी, डुबान, भू–क्षय लगायतका जोखिम एवम् सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने र मानवीय क्षतिसमेत हुन सक्ने भन्दै सार्वजनिक विदा दिएको मन्त्रालयले हिजो निकालेको सूचनामा उल्लेख छ ।
विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु भने खुल्ला नै रहनेछ । साथै, देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेकाले विशेष सतर्कता अपनाउन पनि सरकारले अनुरोध गरेको छ । विदाको समयमा अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा बस्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ ।
देशभर मध्यमदेखि ठूलो वर्षा भइरहेकाले सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लाका कार्यालय प्रमुखहरूलाई हिजो नै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ ।
त्यसैअनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न पत्राचार गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।
