स्याङजा १३ असार । गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन ६ देखि ८ गतेसम्म अर्थात् जुलाई २२ देखि २४ सम्म अमेरिकाको लस भेगासमा आयोजना हुने डेफनेसन एक्पोमा वक्ताका रूपमा सहभागी हुने हुने भएको हो ।
स्याङजामा जन्मनु भएका थापाले सामाजिक सञ्जाल मार्फत् जानकारी दिँदै उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन पाउनु आफूका लागि ठूलो सम्मान र गर्वको विषय भएको उल्लेख गर्नुभएको छ ।
‘नेपाल र बहिरा समुदायको प्रतिनिधित्व गर्ने यो अवसर दिएकोमा आयोजक जोएल बारिश र सम्पूर्ण बहिरा राष्ट्र समूहप्रति म आभारी छु,’ थापाले लैख्नुभएको छ । थापाले विश्वभर रहेका बहिरा समुदायका सदस्यहरूलाई एकता, पहिचान र सशक्तीकरणको यो प्रेरणादायी उत्सवमा सहभागी भई लस भेगासमा भेट्ने आह्वान समेत गर्नुभएको छ ।
डेफनेसन एक्पो श्रवण अशक्तता भएका व्यक्तिहरूका लागि विश्वकै सबैभन्दा ठूलो खुला सम्मेलन मानिन्छ, जसमा ७१ देशका प्रतिनिधिहरू, अभियन्ता, संस्थाहरू र बहिरा समुदायका १५ देखि २५ हजारसम्म सहभागी हुने अनुमान गरिएको छ ।
प्रदेशसभा सदस्य थापाको सहभागिता नेपालका लागि मात्र नभई दक्षिण एसियाली बहिरा समुदायका लागि पनि गर्वको विषयका रूपमा हेरिएको छ ।