स्याङ्जा ३ असोज । संबिधान दिवस पारेर स्याङ्जामा यहाँका ४ राजनीतिक दलले संयुक्त कार्यक्रम गरेका छन् । शुक्रवार आयोजित दिवसलाई जिल्ला स्थित प्रमुख ४ राजनीतिक दलका शिर्ष नेताहरुले एकै मंचमा बसेर संबिधानको रक्षार्थ एकजुट हुने प्रतिबद्धता जनाउनु भयो ।
संविधान रक्षार्थ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला नेतृत्वले संविधान बिपरितका कार्य स्वीकार्य नहुने जनाउदै संबिधानको रक्षार्थ सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनेमा जोड दिनुभएको छ ।
कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जेन—जी का मागहरु जायज रहेको बताउदै उहाहरुका मागलाई समर्थन गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । सुशासन , स्थिर सरकार जेन—जीका माग स्वीकारयोग्य रहेको जनाउदै यो पुस्तालाई राज्य निर्माणमा लगाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
संविधान समावेशी दस्तावेज भएको उहाको भनाई छ । संबिधान आवश्यकतामा संशोधन गर्न सकिने जनाउदै नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको पहिलो बुदाँ पनि संबिधान संशोधन नै रहेको सभापति थापाको भनाई छ ।
जेन—जी का आन्दोलनमा दलालहरुको हस्तक्षेप गर्दै उहाँहरुका माग अपहरण भएको सभापति थापाले भन्नुभयो । ‘जेन—जीले यती ठूलो बिध्वंस मच्चाउन सक्दैनन्, आन्दोलनसंगै राष्ट्रियता कमजोर बनाउने खेल सुरु भएको छ।’ थापाले थप्नुभयोे, ‘राष्ट्रियता जोगाउन सबै एकै ठाँउमा उभिनु ुपर्छ । ठूलो बलिदानीले उपलब्ध भएको संबिधानको पनि रक्षा गर्नुपर्दछ ।’

कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सांसद सीता सुन्दास, कांग्रेसका गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सांसद कल्पना तिवारी, नेकपा एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस), नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, नेकपा एकिकृत समाजवादीका अध्यक्ष शंरकध्वज कार्की, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले धेरै मेहनतका साथ बनाइएको संबिधानमा नियोजित प्रहार गर्ने काम स्वीकार्य नहुने जनाउदै आवश्यकता अनुरुप संशोधन गरेर अघि बढ्न सकिनेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सभापति राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा एमालेका सचिव रामचन्द्र भट्टराईले गर्नुभएको थियो । कोणसभा हुनुपूर्व बजार परिक्रमागरि पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा पुगेर मंचको कार्यक्रममा परिणत भएका थिए ।