स्याङ्जा ३ असोज । शुक्रवार अर्थात असोज ३ अर्थात आज संविधान दिवस । स्याङ्जा लगायत देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको १० वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यततामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुने गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने र अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी विभिन्न झाँकी लगायतका कार्यक्रम कम हुने जनाइएको छ । नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन भनी अघिल्लो सरकारले गत भदौ ८ गते संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरेको थियो ।
नेपाली जनताको बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान, २०७२ असोज ३ गते घोषणा भएको थियो । संविधान जारी भई एक दशक पुगेको यस विशेष अवसरमा संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्या लगायतका विषयमा व्यापकरुपमा वहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकामा धनजनको अपुरणीय क्षतिसहित परिवर्तित घटनाक्रमका कारण प्रभावित हुने अवस्था सिर्जना भएको छ । संबिधान दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्व, संविधानमा अन्तरनिहित पक्षहरुमा केन्द्रित भई प्रदेश र स्थानीय तहहरूमा समेत कार्यक्रम आयोजना हुनेछन् ।
यसैबीच, स्याङ्जामा पनि यसबर्षको संबिधान दिवस मनाउने सम्बन्धमा जिल्ला स्थित गणतन्त्र तथा लोकतन्त्रवादी राजनैतिक दलहरु संयुक्त बैठकबसी संयुक्तरुपमा मनाउने निर्णय गरेका छन् । ४ राजनैतिक दलहरुले संयुक्त बैठकले संबिधान रक्षाकोलागि संबिधान आज स्याङ्जा सदरमुकाम स्थित स्याङजा जिल्ला उद्योगण वाणिज्य संघको भवन अगाडी बिहान ११ बजे सबैजना सहभागी भै नगरपरिक्रमागरी सहिदचोकमा कोणसभा गर्ने निर्णय भएको जनाइएको छ ।
पुतलीबजार नगरपालिका १ सहिदचोकमा गरिने कोणसभामा जिल्ला स्थित राजनैतिक दलका शीर्ष नेताहरुद्धारा संबोधन गर्ने कार्यक्रम रहेको जनाउदै सो कार्यक्रममा उपस्थिती हुनका लागि सम्पूर्ण लोकतन्त्र तथा गणतन्त्रवादी जनसमुदायलाई अनुरोध गरिएको छ ।
