स्याङ्जा १८ असार । वालिङ नगरपालिकाका कार्यपालिका सदस्य सीता बि.क. । बिगत ८ बर्षदेखि जनप्रतिनिधिका रुपमा अनबरत क्रियाशिल हुनुहुन्छ ३७ बर्षिया उहाँ । जनप्रतिनिधि सहित सामाजिक सेवामा आफुलाई क्रियाशिल बनाउदै आउनु भएका उहा अझ आफना बर्गियको हितका निम्ति दत्तचित्त भएर लागिपर्नु हुन्छ ।
सबैका प्रेरणाको स्रोत बन्नु भएका उहाँ आफुलाई दक्ष र सक्षम बनाउदै अघि बढीरहनु भएको छ । ब्यक्तिगत लाभ भन्दा सामाजिक सदभाव र मित्रता कायम राख्दै अघि बढनु भएको छ । ब्यक्तिगत क्षमताबृद्धिमा समेत आफुलाई निखारता ल्याउनु भएको छ ।
वालिङ् नगरपालिका १ सुनार गाउँ निवासी उहा सोही वडाका दलित महिला सदस्यमा निर्वाचित उनको यो दोश्रो कार्यकाल पनि हो । सो गाउँमा १४ घर दलित परिवारको छ । दलित समुदायलाई आफना जिम्मेवारी र कार्ययोजनामा समेत सघाउदै आउनु भएको छ उहाले ।
पहिलो कार्यकाल २०७४ स्थानीय निर्वाचनमा वडालाई चिनाउने अवसर पाउनु भयो । सो अवसरलाई सदुपयोग गर्दै उहाले दोश्रो पटक पनि मतदाताको मन जितेर २०७९ को निर्वाचन पनि जितेर सेवा गर्ने मौका पाउनुभयो । अघिल्लो पटक वडा सदस्य भएर वडाको सेवामा जुट्नु भएका उहाँ यसपटक कार्यपालिका सदस्य बनेर समग्र वालिङ नगरकै विकास र समृद्धिमा लागि पर्नुभएको छ । रातोदिन वडा वडा तथा पालिकामा बसेर आफनो जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्नुभएको छ ।
नगरले दिलाएको जिम्मेवारीलाई सदुपयोग गर्दै कार्यपालिका बैठकमा उहाँ आफना कुरा निर्धक्क राख्ने गरेको उपप्रमुख कबिता तिवारीले बताउनुभयो । बैठकका छलफलमा उठेका बिषयबस्तुलाई नगरप्रमुख कृष्ण खाँण सहित उपप्रमुख तिवारी र अन्य कार्यपालिका सदस्यले समेत पूर्णसहयोग गर्दै आएको उहाले भन्नुभयो ।
बिषेशगरि दिदीबहिनीलाई आत्मनिर्भर बनाउन सकुँ भन्ने उदेश्य लिएकी हुन्छ । उहाँले भन्नुभयो, ‘बर्षौंदेखि हेपिएको बर्ग माथि उठाउन अझै समय लाग्छ । बिगतमा भन्दा धेरै परिवर्तन भएको देखे भोगेकी छु । निरन्तर लागी रहनुपर्दछ । शिक्षा र चेतनाबाट नै सम्भव हुन्छ भनेर अझै बुझाउनु पर्नेछ ।’
रोजगारका लागि उहाका श्रीमान छवीलाल विक कतारमा हुनुहुन्छ । दुई छोरालाई पढाउदै आफु वालिङ नगरको सेवामा जुटिरहनुभएको छ । घरपरिवार, बालबच्चालाई सम्हाल्दै कहिले जनचेतनामूलक तालिम त कहिले सीपमूलक तालिम लिएर वडा बडामा पुग्नुहुन्छ । सीप सिकेर ब्यवसायमा लाग्न सुझाव दिनुहुन्छ ।
पालिकाले सिलाई कटाई, चुरापोते बनाउन, बुटिक, वाद्यवादन बजाउन सिकाउने, बंगुर तथा कुखुरा पालन तालिम सहित सहयोगगरि महिलामैत्री सीपमूलक तालिम दिइएको छ ।
यसैगरी, आरन, जुत्ता बनाउने तथा सामाग्री सहयोग, एसईई दिएका बिद्यार्थीका लागि कम्प्यूटर तालिम, ससाना बालबालिकाका लागि सेन्सर बुक सहित कानूनका बारेमा प्रशिक्षण दिइएको उहाले जानकारी दिनुभयो । यस्ता प्रशिक्षणबाट धेरै प्रशिक्षित हुनु भएको छ ।
वडा र नगरपालिकाले तालिम र प्रशिक्षणमा धेरै लगानी गरेको छ । तर, थोरैले मात्र सो को सदुउपयोग गरेकोमा उहाको दुखेसो पनि छ । तालिमका लागि तालिम हुने गरेको र अब यसका प्रक्रिया र सहभागीताका लागि फरक ढंगबाट सोच्नु पर्ने भएको उहाको भनाई छ ।
सरकारी बिद्यालयको गुणस्तरीयता बृद्धिका लागि सामुदायिक बिद्यालयमा बालबालिका पढाउनुपर्छ भन्ने प्रस्ताव कार्यपालिका बैठकमा राखेको उहाले सुनाउनुभयो । सो प्रस्ताव उपलब्धीमूलक बनेको पनि उहाँको दावी छ ।
जसको सुरुवात उहा आफैले गर्नुभयो । एक निजी बिद्यालयमा पढ्दै गरेका दुई छोरालाई वालिङमा रहेको रणवीर माध्यमिक बिद्यालयमा पढाउनुभयो । अहिले उहाका जेठो छोरा चोलाकान्त गहतराजले भर्खर सार्वजनिक एसईइमा ए प्लस ल्याएर ग्रेडेड हुनु भएको छ । कान्छा छोरा सुशान्त गहतराज पनि पढाईमा अब्बल । उहा कक्षा ८ मा अध्ययरत छन् ।
यो संगै उहाले दलित महिलालाई ब्यावसायिकतामा जोड्न सिलाई मेशिन सहित तालिम समेत उपलब्ध गराउन पहल गर्नुभयो । काम गरेरै छाड्नु भयो । दिदीबहीनीले तालिम लिने अवसर पाए । सिप सिके । आफनै वडाले १० वटा सिलाई मेशिन खरिदगरि वडाबासी सबैलाई सिप सिक्नका लागि उत्प्रेरित गराइरहनु भयो । अझै पनि सिक्न चाहने दिदीबहिनीका लागि सिलाई कटाई तालिम उपलब्ध गराउन सकिने उहाले भन्नुभयो ।
महिला तथा बालबालिकाको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा अझ आफुलाई क्रियाशिल गराएको उहाको भनाई छ । गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्यलाई ध्यान दिदै ३ महिना गर्भदेखि बच्चा जन्मेपछि पनि मासिक रुपमा एक÷एक क्रेट अण्डा उपलब्ध गराउदै आएको छ ।
दलित बर्गका लागि निशुल्क स्वास्थ्य बिमा र विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको उहाले जानकारी दिनुभयो ।
सहारा सचेतना आमा समूहका अध्यक्ष समेत रहनु भएका उहाले सामुदायिक भवन निर्माण गर्नु भएको छ । जुन भवनमा सामुहिक कार्य गरिदै आएको छ । जनप्रतिनिधि हुनु भन्दा अघि उहा आमा समूहको पनि नेतृत्व गर्दै आउनु भएको छ । जनप्रतिनिधी भएपछि विकास निर्माणसंगै क्षमता विकास र आयआर्जनमा उहाँ क्रियाशिल देखिनु भएको छ ।
वडादेखि कार्यपालिकासम्मको यात्रालाई सहज बनाउन ‘दलित महिला केन्द्र नेपाल’ (सि.डि.डब्लु.एन) ले सहयोगी भूमिका खेलेको पनि उहाको भनाई छ । जनप्रतिनिधी भएर भर्खरै वडामा आउदा बोल्नै डर लाग्थ्यो । आफनै कुरा राख्न नसक्ने मैले वडाका कुरा कसरी भन्ने भनेर निकै पिरोलिन्थे । तर, केन्द्रको निरन्तर प्रशिक्षणले निखार ल्याएको उहाले सुनाउनुभयो ।
दलित महिलाको क्षमता, दक्षता बृद्धिगरि नेतृत्वमा पुरयाउन “स्थानीय सरकार सवलिकरण” परियोजना मार्फत सि.डि.डब्लु.एनले वालिङ्मा काम गर्दै आएको छ । दलित महिला जनप्रतिनिधीका क्षमता, दक्षता अभिबृद्धिका लागि धेरै किसिमका तालिम तथा प्रचलित नियम, कानूनका बारेमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
जसका कारण धेरै दलित महिला जनप्रतिनिधिले आफुलाई क्षमता बढाउने अवसर पनि पाएका छन् । वालिङ् नगर कार्यपालिकामा २ दलित महिला र २ दलित पुरुषगरि ४ जना सदस्य छन् । संबिधान तः स्थानीय पालिकाका प्रत्येक वडामा कम्तिमा एक जना दलित महिला जनप्रतिनिधि हुनुपर्ने ब्यवस्था गरेसंगै हरेक वडामा दलित महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।
नेपालको संविधान २०७२ ले देशमा तीन तह संघ, प्रदेश र स्थानीय तहको राज्य व्यवस्था अन्र्तगत आरक्षण सहितको समावेशी प्रतिनिधित्व खोजेको छ । जसका कारण सबैका जातजातीका हक र अधिकारको सुरक्षणमा राज्यको समान ध्यान पुगोस भन्ने मूल ध्येय पनि हो ।
स्थानीय तहले आर्थिक बर्ष २०८२÷०८३ को बजेट निर्माण गरिसकेको र आउदो बर्षको लागि दलित, अल्पसंख्यक समुदायकालागि बिशेष कार्यक्रम सहित बजेट पारित गरिएको कार्यपालिका सदस्य बि.क.को भनाई छ ।