स्याङ्जा ५ मंसिर । आइसीसी महिला यू १९ विश्वकपका लागि छनौट भएका कास्की र स्याङ्जाका ४ र क्रिकेट संघ स्याङ्जाका अध्यक्षगरी ५ जनालाई जनही २०÷२० हजार नगद सहित सम्मान गरिएको छ ।
पुतलीबजार नगरपालिकाका ३ जना र पोखराका एक जना महिला क्रिकेट खेलाडी सहित प्रशिक्षक एवं संघका अध्यक्षलाई पुतलीबजार नगरपालिका १ स्थित रोशनी आवासिय अंग्रेजी माध्यमिक बिद्यालय परिवारले नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी., कुसुम गोदार, कास्की पोखराका रचना चौधरी र स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई नगद सहित संघिय पूर्व सांसद एवं बिद्यालयका निर्देशक नारायणप्रसाद मरासिनी र विद्यालयका संस्थापक रोशन मरासिनीले सम्मान गर्नुभएको हो ।
सम्मान गर्दै पूर्व सांसद एवं निर्देशक मरासिनीले अनुशासन, लगनशिलता र परिश्रमले सफलतामा पुरयाउने जनाउदै ढुक्क भएर आफना क्षमता प्रर्दशन गर्न सुझाव दिनुभयो । विजयमा मात्तिन र पराजयमा आत्तिन नहुने जनाउदै स्याङ्जाको नाम संसारभरी परिचित गराउन सफल भएकोमा बधाई एवं शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापा, क्रिकेट संघका सदस्य बिद्यादेवी भट्टराई लगायतले शुभकामना सहितका मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बिद्यालयका प्रिन्सिपल दिपक मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिद्यालयका प्रशासक बिशाल गौतमले गर्नुभएको थियो ।