स्याङ्जा २५ मंसिर । पुतलीबजार नगरपालिकाका आठौं राष्ट्रपति कप रनिङ् शिल्ड प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा प्रतियोगिताको प्रतियोगिताको उदघाटन गर्दै संबिधानसभा सदस्य राजु थापाले किताबी ज्ञानसंगै खेलकूद र संस्कारयुक्त शिक्षा अवको आवश्यकता भएको बताउनु भएको छ ।
सिमित स्रोत र साधनका बाबजूद पनि पुतलीबजार नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूदका क्षेत्रमा लगानी गरेको उहाले भन्नुभयो । खेलकूदका माध्यमबाट स्याङ्जाका धेरै युवाहरुले स्वदेश तथा विदेशमा समेत चर्चा सहित सफलता कमाएको जानकारी गराउनुभयो ।
फूटवल, भलिवल, क्रिकेट लगायतका खेलहरुमा यहाँका धेरै युवाहरुले नाम र दाम कमाउन सफल भएको जनाउदै खेलकूदका क्षेत्रमा बालबालिकालाई अग्रसर बनाउनुपर्ने उहाको भनाई छ । हरेक बिद्यार्थीमा रहेका भिन्नभिन्न क्षमता पहिचान गर्दै त्यतैतर्फ लगाव बढाउनु पर्नेमा थापाले जोड दिनुभयो ।
प्रतियोगिता संचालन भैरहेको मालेबगर खेलमैदानलाई पुतलीबजार नगरपालिकाले ब्यवस्थित बनाएको जनाउदै आगामी दिनमा जिल्लाकै नमूना खेलमैदान अर्थात रंगशाला निर्माणलागि थप सहयोग गर्ने जनाउनुभयो ।
सहभागी गुरुहरुलाई लक्षित गर्दै संबिधानसभा सदस्य थापाले बालबालिकालाई अव राष्ट्रप्रति समर्पण र नैतिक तथा संस्कारयुक्त शिक्षा पढाउन सुझाव दिनुभयो । राष्ट्र, राष्ट्रियता, भाषा र माटो बुझाउनु आवश्यकता औल्याउदैै स्वदेशका संभावना बुझाउनुपर्नेमा थापाले जोड दिनुभयो ।

सोही नगरप्रमुख तुलसीराम रेग्मीले खेलमैदानको ब्यवस्थापनका लागि यसबर्ष ४ करोड बिनियोजन गरेको जानकारी गराउदै खेलमैदानलाई अझ ब्यवस्थित बनाउने योजना सुनाउनुभयो । सिमित स्रोत र साधनका बाबजूद पनि नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकूदलाई प्राथमिकतामा राखेको उहाको भनाई छ ।
प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढ्ुंगााना, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, च्याम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, नगर शिक्षा समिति सदस्य मुक्तिप्रसाद रेग्मी लगायतले खेलकूदमा गरिएको लगानी खेरा नजाने जनाउदै शारिरीक एवं मानसिक स्वस्थ्यताका लागि खेलकूदको आवश्यकता औल्याउनुभयो ।

पुतलीबजार नगर स्तरीय खेलकूद विकास समितिका अध्यक्ष यामप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रवक्ता मनोज पौडेलले स्वागत र शिक्षा अधिकृत शोभा बस्यालले संचालन गर्नुभएको थियो ।
शुक्रवारसम्म अर्थात ३ दिनसम्म संचालन हुने प्रतियोगितामा २४ वटा बिद्यालय सहभागी छन् । एथलेटिक्स लगायत बिभिन्न दुरीका रिले दौडहरु, भलिवल, सटफुट, लगजम्प, ज्याभलिन थ्रो, ट्रिपल जम्प ,कबड्डी, लगायतका खेलहरु प्रतियोगितामा समावेश गरिएका छन् ।
यसैगरी, मार्चपासमा ज्ञानोदय आवासिय मावि, ज्योती आवासिय मावि र भूतपूर्व सैनिक आवासिय मावि क्रमश ः पहिलो, दोश्रो र तेस्रो भएका छन् । शुक्रवार पनि प्रतियोगि खेलहरु जारी रहने छ ।





