स्याङ्जा ५ साउन । पुतलीबजार नगरपालिकाले बाँझो जग्गा÷जमिनलाई उपयोगमा ल्याउने निती अवलम्बन गरेको छ। कृषि मार्फत समृद्ध नगर बनाउने अभियान अघि बढाएको छ ।
जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्दै खेतीमा आर्कषण बढाउन खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार अनुदान उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
‘पैसा कमाउनका लागि अन्यत्र शहर र बिदेशतर्फ जाने क्रम ह्वात्तै बढेसंगै यहाँका धेरै जग्गाजमिन बाँझा भए।’ उहाले भन्नुभयो, ‘यहाँ बसेर फलफूल तथा तरकारी उत्पादन गर्नेले राम्रो आयआर्जन गरेका छन। यहाँ पनि गर्न सकिन्छ भन्ने उदाहरणहरु पनि धेरै छन्।’ नगरको संभाब्यता अध्ययनगरी सो निर्णय गरिएको उहाले बताउनुभयो ।
नगरपालिकाले संघ, प्रदेश सरकारसंगको साझेदारीमा पशु, उद्यम, कृषि, पर्यटनका क्षेत्रमा सहयोगगरि रोजगारको समेत ब्यवस्था गर्ने जनाएको छ। कृषिमा आधुनिकीकरण, यान्त्रिकरण, सिंचाई, माटो परिक्षण, किसान सूचिकरण, एक वडा एक नर्सरी जस्ता कार्य गर्दै किसान लक्षित काम गर्ने लक्ष्य राखिएको उपप्रमुख देवी अर्यालको भनाई छ।
सुन्तला, कफीसंगै मौसमी तथा बेमौसमी तरकारी र मकै, धान, अदुवा यहाँ अत्यन्तै उत्पादन हुने कृषि उपज हुन। यी बाहेक अन्य कृषिजन्य खाद्यबस्तु पनि राम्रो उत्पादन हुने गर्दछ । जिल्लाका ११ वटै पालिकामध्ये पुतलीबजारमा धेरै सुन्तला उत्पादन हुने गर्दछ। यहाँका पाखोबारी समेत सुन्तलाका मौसममा पहेंलपुर देखिन्छन्। एउटै वडामा करोडौ रुपैंयाका सुन्तला फल्ने गर्दछ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वबृद्धिगरि नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने पालिकाको उदेश्य छ। निर्वाहमूखी यहाँका किसानलाई ब्यावसायि बनाउन मौसम अनुसारका फलफूल, तरकारी र खाद्यान्न बालिका गुणस्तरीय बिउ, बिजन, विरुवा, कृषि औजार, उपकरणलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउनेगरि निती तथा कार्यक्रममा समावेश गरिएको छ ।
त्यसो त, पुतलीबजार नगरपालिकालाई सुन्तलाको शहरको रुपमा विकास गर्नेगरी सुन्तलाको उत्पादन, गुणस्तरको ब्यवस्थापन र बजारीकरणमा समेत सहज बनाउनेगरि कार्यक्रम संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाानाको भनाई छ ।