स्याङ्जा २७ चैत । पुतलीबजार नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले वडा न ३, ४, ५ र १४ का किसानहरुको माग बमोजिम कृषी यान्त्रिकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा २५७ वटा मिनि टेलर हाते ट्याक्टर वितरण गरेको हो ।
हाते ट्याक्टर वितरण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले लाभान्वित कृषकहरुलाई हाते ट्याक्टरको भरपुर उपयोग गरी कृषीबाट उद्यमशिल र व्यवसायिक बन्न अनुरोध गर्नुभयो । उहाँले कसैको घरमा पनि हाते ट्याक्टर यत्तिकै नराख्न आग्रह गर्नुभयो । नगर प्रमुख रेग्मीले नगरलाई कृषी क्षेत्रको यान्त्रीकरणमा अघि बढाउनका लागी यसअघि पनि २५० वटा हाते ट्याक्टर वितरण गरि सकिएको जानकारी दिदै मिनि टेलर मर्मत सम्भारका लागी नगरले व्यवस्था गरेको समेत बताउनुभयो ।
कार्यक्रममा उप प्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना लगायतले हाते टयाक्टरका उपयोगीता र आवश्यकताका बारेमा जानकारी गराउनुभयो ।
आर्थिक विकास समिति संयोजक एवं नगर प्रवक्ता मनोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृषी शाखा प्रमुख अरुण रेग्मीले गर्नुभएको थियो । यसअघि पनि वडा नं. १०, ११ र १३ मा गरि १२० वटा टयाक्टर बितरण गरिसकेको जनाएको छ ।
