स्याङ्जा २७ चैत । पुतलीबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा नगरपालिकाका बाख्रा पालक किसानलाई बोयर जातका बोकाहरु बितरण गरिएको छ ।
आर्थिक बर्ष २०८१÷८२ को बार्षिक नश्ल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बोका वितरण गरिएको हो । नश्ल सुधारगरि उत्पादनमा वृद्धि गर्ने उदेश्यले बोयर जातका बोकाहरु वितरण गरिएको हो । नगरपालिकाले आवेदन माग गरेपश्चात १८ जना बाख्रापालक किसानलाई बोका प्रदान गरिएको हो ।
बोका प्रदान गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले पशुपालक कृषकहरुलाई उद्यमशिलतामा जोड्ने अभिप्रायका साथ उन्नत जातका बोका वितरण गरिएको बताउनुभयो । उहाँले आफ्नो समुदायमा सुपथ मुल्यमा मासु बिक्रि वितरण गर्न समेत लाभान्वित कृषकहरुलाई अनुरोध गर्नुभयो । नगर प्रमुख रेग्मीले कुनै पनि आग्रह पुर्वाग्रह नराखिकन बोयर बोका वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय धर्मराज ढुङ्गाना, पशु सेवा शाखाका डा अनिल गौतम, कास्कीका बाख्रापालक किसान दुर्गाबहादुर गुरुङ् लगायतले बाख्रापालनगरि राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।
नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पशु सेवा शाखा प्रमुख पुष्पराज अधिकारीले गर्नुभएको थियो ।
