स्याङ्जा ११ भदौ । पुष्प—चन्द्र ट्रष्टले पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ मडकिना स्थित दुर्गा आधारभूत बिद्यालयमा अध्ययनरत ४३ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
ट्रष्टकी संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको दोश्रो पुण्यतिथिका अवसरमा ट्रष्टले सदरमुकामको पहुँचदेखि टाढा रहेका गरीब तथा विपन्न परिवारका बालबालिकालाई उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
उक्त बिद्यालयमा अध्ययनरत १७ दलित, २४ आदिवासी जनजाती मगर र २ जना ब्राह्मण (खस आर्य ) समुुदायका बालबालिका अध्ययनरत छन् । बिद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामाग्री सहयोग कार्यक्रम अन्र्तगत ट्रष्टले बर्ष २०८२ लाई खुशी तथा सिर्जनशील बिद्यार्थी, नानीबाबुको मुहारमा खुसी भन्ने नारा तय गरी गरीब तथा बिपन्न परिवारका बालबालिकालाई पढाईप्रति अभिरुची जगाउन यो अभियान संचालन गरेको ट्रष्टका संस्थापक योगेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
ट्रष्टका अध्यक्ष महेन्द्रमान ब्यथितले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई बिद्यालयीय शिक्षाप्रति अभिरुची जगाउन उत्प्रेरित गर्ने उदेश्यले गरिएको यस किसिमको कार्यक्रमबाट गरीब तथा निमुखा बालबालिका लाभान्वित हुने बताउनुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा ट्रष्टका संस्थापक अमृतमान श्रेष्ठ र योगेन्द्रमान श्रेष्ठ, प्रधानाध्यापक हुमकला विश्वकर्मा लगायत शिक्षक अभिभावकको उल्लेख्य सहभागिता थियो ।
यसैगरी, ट्रष्टले राजधानीको गोंगबु स्थित हिमालयन बृद्धाश्रमका ६३ जना जेष्ठ नागरिकलाई पनि खाद्यान्न तथा दैनिक उपयोगका अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।
बाबु पुष्पमान श्रेष्ठ र आमा चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा परिवारका सदस्यले ४ बर्षअघि ट्रष्ट स्थापनागरी सामाजिक र लोककल्याणकारी परोपकारी काममा सहयोग र सहभागिता जनाउदै आएका छन ।