स्याङ्जा १७ मंसिर । स्याङ्जामा पहिलो पटक वालिङ् नगरपालिकाले आज (बुधवार) देखि शुक्रवार १७ देखि १९ सम्म सडक महोत्सव गर्ने भएको छ । ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रथम वालिङ सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो ।
वालिङ्मा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सो को जानकारी गराइएको हो । मंसिर १७ गते बुधवारदेखि शुरु हुने प्रथम वालिङ सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र तीनदिने सो महोत्सवको बुधवार दिउसो १ बजे बिधिवतरुपमा उदघाटन गरिने नगर प्रवक्ता पदमराज गुरुङ्ले जानकारी गराउनुभयो ।
वालिङ् नगरपालिकाको मौलिक खानपान, कलासंस्कृति र उद्यमलाई प्रर्वद्धन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको नगर प्रवक्ता गुरुङको भनाई छ । नगरभित्र रहेका १६ जात—जातीका स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सदभाव र पहिचान प्रर्वद्धन गरिने सम्मेलनमा जानकारी गराइएको छ ।
महोत्सवमा २५ वटा स्टलहरु रहनेछन् । राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहनेछ । वालिङ ८ मा स्थित पतञ्जली तथा वालिङ खेलमैदानको आसपासको भागदेखि आँधिखोला कोरिडोर हुँदै सुर्कौदी पुलसम्मको क्षेत्रमा स्टलहरु राखेर बिभिन्न जात जाती गुरुङ, मगर, थकाली, बाहुन, क्षेत्री, नेवार, दमै, कामी, सार्की, लिम्बु, तामाङ, घर्ती, कुमाल, दलित समुदाय तथा अन्य स्थानीय जनजातिहरुका परम्परागत खानाका बिबिधता, कृषि उद्यम प्रवद्र्धन तथा संस्कृतिक धरोहरको प्रवद्र्धनमा जोड दिईने भएको हो ।
महोत्सवमा जातजातीका परिकारको प्रदर्शन, कला संस्कृति तथा भेषभुषाको बिशेष प्रस्तुती, खानाको संरक्षण तथा प्रवद्र्धन, फलफूल, तरकारी तथा कृषिजन्य उत्पादन प्रदर्शन, सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने भएको छ । स्थानीय कलाकारहरूको प्रस्तुती, नृत्य–गीत कार्यक्रम, बाल–बालिकाको प्रतिस्पर्धा, जातीय सांस्कृतिक झाँकी र नृत्यजस्ता विविध कार्यक्रम समेटिने छ । खाना परिकारसंगै प्रतिभाको पहिचानमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
पतञ्जली – खेलमैदान–सुर्कौदी पुलसम्म आँधीखोला करिडोड नयाँ सडकमा महोत्सव गर्न लागिएको हो । आँधीखोले सभ्यताको संरक्षण र पहिचान कायम गर्दै महोत्सवले सडकलाई तीन दिनसम्म परिकार, कला र संस्कृतिको खुला मंचमा रूपान्तरण गर्ने जनाइएको छ ।
नगरपालिकाले सभ्य, भब्य र सुरक्षित महोत्सवका लागि सरोकारवालाबीच सर्वपक्षीय छलफल गरेको छ । छलफलमा सुरक्षा, व्यवस्थापन, सरसफाइ, यातायात र भीड नियन्त्रण लगायत विषयमा छलफल भएका छन् । महोत्सवको साँझको सत्रमा प्रशासनको अनुमति लिएर आतिसबाजी समेत प्रर्दशन गरिने भएको छ । महोत्सवले आन्तरिक पर्यटन, व्यापारिक गतिविधि र कृषि उत्पादन तथा उद्यमशीलतामा जोड दिने अपेक्षा लिइएको छ ।
सम्मेलनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै वालिङ नगरप्रमुख कृष्ण खाँणले बिशेषगरी वालिङ्को स्थानीय उत्पादन, रहनसहन, कलासंस्कृति, पहिचान, उत्पादन र उद्यमलाई उजागर एवं पहिचान गर्ने लक्ष्य सहित सडक महोत्सव गर्न लागेको बताउनुभयो ।
सडक महोत्सवले स्थानीय ब्यवसाय चलाएमान बन्नुका साथै अन्य ब्यक्तिकालागि पनि सिकाईको थलो बन्ने नगर प्रमुख खाँणको भनाई छ । सडक महोत्सव शभ्य, भब्य, शान्त र शौहार्द वातावरणमा सम्पन्न गर्नकालागि सहयोग गर्न प्रहरी, शसस्त्र, युवा क्लव, आमा समूह, नगरबासी लगायत सरोकारवाला सबैलाई प्रमुख खाँणले अनुरोध गरेको जानकारी गराउनुभयो ।
पहिलो पटक गर्न लागिएको महोत्सवको सकारात्मक परिणाम देखिएमा नेपालीको नयाँ बर्षमा पनि आयोजना गरिने जानकारी गराउनुभयो । नाफामूखी भन्दा सेवामुखी भावले महोत्सव आयोजना गरिएको र न्यून शुल्कमा स्वस्थ्यकर खाना खुवाउनेगरि ब्यवस्थापन गरिएको नगरप्रमुख खाँणले जनाउनुभयो ।
महोत्सव दिउसो १ बजेदेखि साँझ ९ बजेसम्म संचालन गरिने भएको छ । महोत्सव स्थल वरपरि सीसी क्यामरा सहित बिद्युत्तीय सुबिधाको पनि पर्याप्त ब्यवस्थापन गरिएको छ । महोत्सव स्थल वरपर दुई÷तीन दिनअघिदेखि सरसफाई गरिएको छ । सडकलाई सफा र चम्किलो बनाइएको छ ।
महोत्सवको उदघाटन नगरप्रमुख कृष्ण खाँणले गर्ने जनाइएको छ । सडक महोत्सव मूल समारोह समितिका संयोजक एवं वालिङ नगर उपप्रमुख कबिता तिवारीले वालिङका १४ वटा वडालाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरणकालागि महोत्सव कोशेढुंगा हुने बताउनुभयो ।
महोत्सवका लागि ६ लाख ५० हजारको आय—ब्ययको अनुमान गरिएको छ । महोत्सवमा २५ वटा स्टलहरु राखिने भएको छ । कृषिका स्टल निशुल्क उपलब्ध गराइएको छ भने अन्य स्टलकालागि प्रतिदिन एकहजार मूल्य तोकिएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष प्रदीप कोइराला, पूर्वअध्यक्ष ओमप्रकाश शर्मा लगायतका जिज्ञासाको नगरप्रमुख कृष्ण खाँण, नगरप्रवक्ता पदमराज गुरुङले जवाफ दिनुभएको थियो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार महासंघका सचिव सुशिल सुवेदीले गर्नुभएको थियो ।
यसैगरी, प्रथम सडक खाना महोत्सवको अन्तिम दिन १९ गते वालिङ नगरपालिकाले सार्वजानिक विदा दिएको छ । बुधबारदेखि शुरु हुने महोत्सवको अन्तिम दिन शुक्रबार नगरपालिकाले सार्वजानिक विदा दिएको नगरप्रमुख कृष्ण खाँणद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

