स्याङजा २७ साउन । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी राष्ट्रियस्तरमा ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’ सूचीमा पर्न सफल हुनु भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तिवारीलाई प्रभावशाली युवा अवार्ड प्रदान गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भई नेतृत्वमा पुगेका तिवारी राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र कूटनीतिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहालाई शेयर बजार र उद्यम विकासमा बारेमा राम्रो जानकार हुनुहुन्छ ।
अध्यक्ष निर्वाचित भएपछि तिवारीले शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद र धार्मिक पर्यटनको क्षेत्रमा विशेष ध्यान दिनुभयो । नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा निर्माण गरेर पालिकालाई देश तथा विदेशमा समेत चिनाउन सफल हुनुभयो । स्याङ्जा र नेपाललाई विश्वमाझमा चिनाउने लक्ष्यमा सफलता दिलाउनुभयो । कूटनीतिक सम्बन्धदेखि सामाजिक सेवा र आर्थिक विकाससम्म तिवारीको सक्रियता, उद्यमशील सोच र नेतृत्व शैलीले उहालाई राष्ट्रिय पहिचानमा पु¥याउन सफल बनेको हो ।
चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि देश र समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनलाइनखबरले गत वर्षदेखि यो ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’सूची सार्वजनिक गर्दै आएको हो । सोही सूची बमोजिम यस वर्ष स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको नाम समावेश हुनु स्याङ्जा जिल्लाबासीकालागि गौरव बनेको छ ।