स्याङ्जा १४ कात्तिक । मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा भएको विवादले ज्यान जाने घटनामा संलग्नभई फरार पर्वत खवास मंगलबार पक्राउ परेका छन् ।
वालिङ नगरपालिका –५ जर्कोटमा भएको सो घटनापछि फरार रहेको भन्दै १९ वर्षीय खवासलाई ६५ दिनपछि इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । खवास सोही नगरपालिका –५ काम्तीका बासिन्दा हुन् ।
जिल्ला अदालत स्याङ्जामा बुधवार पेश गरिएको उनलाई बिहीबार पुर्पक्षका लागि कारागार स्याङ्जा चलान गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
गत साउन ७ गते राति जर्कोटमा मोटरसाइकलको चर्को आवाजका कारण भएको विवादमा ३२ वर्षीय ढालबहादुर थापालाई कुटपिट गरी घाइते बनाएको र उपचारका क्रममा उनको मृत्यु भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । सो घटनामा यसअघि संलग्न ७ जना प्रतिवादीलाई अनुसन्धानपछि गत असोज २ गते नै कारागार चलान गरिएको थियो ।
